धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने कसरतमा लागेक नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नगर र जिल्लास्तरका नेताहरु स्वास्थ्यमन्त्रीलाई भेट्न इनरुवा पुगेका छन् ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव इनरुवामा एक कार्यक्रममा सहभागी हुन आउने भएपछि नेकपाका नेताहरु धरानबाट इनरुवा पुगेका हुन् । स्वास्थ्यमन्त्री यादव मंगलबारै विराटनगर आएका थिए । उनी केहीबेरमा इनरुवामा आइपुग्ने कार्यक्रम छ । बिपी प्रतिष्ठानको उपकुलपति हटाउनुपर्ने एक सुत्रीय आफुहरुको माग भएको साविक एमाले धरानका कार्यवाहक अध्यक्ष नारायण सुवेदीले बताए । उनले भने,‘हाम्रो एक सुत्रिय माग हो, स्वास्थ्यमन्त्री ज्युलाई पर्खिरहेका छौं ।’

मंगलबार नेकपाका नेताहरु बिपी प्रतिष्ठान गएर उपकुलपति, रेक्टर र अस्पाल निर्देशकलाई भेटेका थिए । संयुक्त भेटमा उनीहरु प्रतिष्ठानको अवस्था खस्कदै गएको भन्दै उपकुलपतिले सफल नेतृत्व गर्न नसकेकोले पद छोड्न दबाब दिएका थिए । चारै जना पदाधिकारीलाई भेटेर प्रतिष्ठानको अवस्था सुधार गर्न दबाब दिने भनेपनि रजिष्ट्रार भने उपस्थित थिएनन् । उपकुलपति डा.राजकुमार रौनियारलाई हटाएर आफु अनुकुल व्यक्ति ल्याउन नेकपाका स्थानीय नेताहरु लागिपरेका हुन् ।

उपकुलपतिले हिजै भेटे मन्त्री यादव

नेकपाका नेताहरुले स्वास्थ्यमन्त्री यादवलाई भेट्न इनरुवामा प्रतिक्षा गरिरहदा उपकुलपति डा.रौनियारसहितको टिमले भने मंगलबार नै भेटेको थियो । उपकुलपति रौनियार, अस्पताल निर्देशक डा.गौरीशंकर साहले पनि मन्त्री यादवलाई विराटनगरमा गएर भेट गरेका थिए । ‘मन्त्री ज्यूलाई विराटनगरमा हिजो नै उपकुलपति, अस्पताल निर्देशकले भेट गरिसकेका छन्,’बिपी प्रतिष्ठानका एक कर्मचारीले भने ।

तस्बिर क्याप्सनः मंगलबार साँझ स्वास्थ्यमन्त्री यादवलाई भेट गर्दै बिपी प्रतिष्ठानका उपकुलपति र अस्पताल निर्देशक ।