भोजपुर : भोजपुरमा हजुरआमाको हत्या गरेको अभियोगमा बुधबार एक महिलालाई जन्मकैदको फैसला सुनाइएको छ ।


टेम्केमैयुङ गाउँपालिका–९, लेखर्ककी २६ वर्षीया रिमा भनिने रेम कुमारी राईलाई हजुरआमा पर्ने ईश्वरमाया राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले जन्मकैद सजाय सुनाएको हो ।
रिमाले गत ०६९ साल असोज ६ गते हजुरआमा ईश्वरमायाको गहना चोरी गरी कुटपिट गर्ने क्रममा ढुङ्गाले टाउकोमा प्रहार गरेर हत्या गरेकी थिइन् ।
पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा उनलाई असोज ७ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अभियुक्त रिमालाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजालसले मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३ को उपदफा ९३० बमोजिम जन्मकैद फैसला सुनाएको हो ।