धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने कसरतमा लागेका नेकपाका नेताहरुले बुधबार इनरुवामा स्वास्थ्यमन्त्री तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् ।

बिपी प्रतिष्ठानको सुधार एजेण्डा भएको बताएपनि नेकपाका नेताहरुले वर्तमान उपकुलपति डा.राजकुमार रौनियारलाई पदच्युत गर्ने भित्रि एजेण्डा हो । त्यसैको लागि उनीहरुले मंगलबार उपकुलपतिसहित अन्य पदाधिकारीहरुलाई भेटेका थिए । उक्त भेटमा उनीहरुले प्रतिष्ठान सुधार गर्न र पदाधिकारीलाई मिलाउन नसक्ने हो भने पद छोड्न चेतावनी दिएका थिए । बुधबार मन्त्री यादवलाई भेट गरेका नेताहरुले प्रतिष्ठान धरासायी बनेको भन्दै चाडो निकास दिनुपर्ने बताए । नेकपाका नेताहरुले आज बुधबार मन्त्री यादवलाई भेट्नु अघि नै मंगलबार साँझ उपकुलपति रौनियार र अस्पताल निर्देशक डा.गौरीशंकर साहले विराटनगर पुगेर मन्त्रीसँग भेट गरेका थिए ।

इनरुवस्थित नयाँ बसपार्क उद्घाटन कार्यक्रममा आएका मन्त्री यादवलाई भेट्न नेताहरु मिन सुब्बा, मुरारी सुवेदी, सिपि दत्त, चोत्लुङ, सुवास पौडेललगायत इनरुवा गएका थिए । मन्त्री यादवसँगको भेटमा नेताहरुले प्रतिष्ठानका उपकुलपति रौनियारले सही नेतृत्व दिन नसकेको र प्रतिष्ठान धरासायी बनाएको भन्दै चाडो निकास दिन आग्रह गरेका थिए । उपकुलपति रौनियारले विधि, प्रक्रिया मिचेर काम गरिरहेको पनि उनीहरुले मन्त्री यादवलाई बताएका थिए । ‘प्रतिष्ठान धरासायी भयो, चाडो निकास दिनुपर्यो भन्यौ, मन्त्री ज्युले पनि चाडै सिनेट बसाएर निकास दिने भन्नु भयो,’साविक एमालेका धरान कार्यवाहक अध्यक्ष नारायण सुवेदीले भने ।

49773452_1037575766424308_305926457455017984_n copy

अर्का साविक माओवादीका नगर इञ्चार्ज चोत्लुङले पनि प्रतिष्ठानमा बेथिति बढेको र उपकुलपतिको मनोपोली भएको बिषयमा स्वास्थ्यमन्त्री यादव गम्भीर भएको बताए । यसअघि मन्त्री यादवले छानबिन चलिरहेकोले दीर्घकालिन निर्णयहरु नगर्न लिखितरुपमा निर्देशन दिएपनि उल्लंघन भएको र सो बिषयमा पनि मन्त्री यादवसँग कुराकानी गरेको उनले बताए । ‘यो बिषयमा पनि मन्त्री ज्यु गम्भीर हुनुभएको रहेछ, आजै मन्त्रालयबाट स्पष्टीकरण पत्र पठाएको पनि भन्नु भयो,’नेता चोत्लुङले भने ।

मन्त्री यादवले प्रतिष्ठानको बिषयमा २ वटा समितिले छानबिन गरेर कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिपोर्ट बुझाइसकेको र अब सिनेट बैठकबाट निकास आउने बताएका थिए । काठमाण्डौ फर्केर प्रधानमन्त्रीसँग यो बिषयमा छलफल गर्ने मन्त्री यादवले नेकपाका नेताहरुसँग बताएका थिए । ‘छानबिनको रिपोर्ट प्रधानमन्त्रीसमक्ष बुझाएका छौ, अब चाडो सिनेट बैठक बसेर निकास दिन्छौ,’मन्त्री यादवले नेकपाका नेताहरुलाई भनेका थिए । पछिल्लो समय बिपी प्रतिष्ठानमा उपकुलपति रौनियार सँग रेक्टर डा. गुरु खनाल र रजिष्ट्रार तुलबहादुर श्रेष्ठबीच सम्बन्ध बिग्रिएको छ । उपकुलपति रौनियार कांग्रेस निकट मानिन्छन् भने रेक्टर र रजिष्ट्रार नेकपानिकट हुन् ।