धरान :नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको आज पृथ्वी जयन्ती मनाइँदै छ ।

शाह गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं.१७७९ पुस २७ गते जन्मिएका थिए । उनले तत्कालीन समयमा बाइसे–चौबीसे राज्यकोरुपमा छरिएर बसेका राज्यहरुलाई एकीकरण गर्दै आधुनिक नेपाल निर्माण गरेका थिए । उनले भौगोलिक रुपमा नेपाल एकीकरण गरेका हुन् । त्यसैले उनलाई राष्ट्र निर्माता पनि भनिन्छ ।

शाहले नेपाल एकीकरण नगरेको भए अहिले नेपालको अस्तित्व रहन्थ्यो भन्ने अनुमान गर्न सकिन्न । स साना टुक्रे राज्यहरु एक आपसमा लडाई, यद्ध गरिरहन्थे । भारतमा कब्जा जमाएको इष्ट इण्डिया कम्पनीसँग विभाजित ती राज्यहरुले लडाई गर्न मुश्किल थियो । शाहले नै एकीकरण गदै सुदृढ नेपाल बनाएका थिए । तर, उनको आलोचना पनि भइरहेको छ । उनलाई एकल जाति–नश्ल, हिन्दु धर्म, सँस्कृतिको वर्चस्व स्थापित गरेको भन्दै आलोचना गर्नेहरु पनि छन् । बिशेष गरी आदिबासी जनजाति संस्था र अधिकारका अभियन्ताहरु शाहको कट्टर आलोचक छन् ।

विगतमा पुष २७ गते राष्ट्रिय एकता दिवस सरकारीस्तरबाटै मनाउने गरिन्थ्यो । पछिल्ला केही वर्ष यता भने सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाउन छोडेको छ भने सार्वजनिक बिदासमेत सरकारले कटौती गरेको छ । तर, केही स्थानीय तहहरुले भने आज सार्वजनिक बिदा दिएका छन् ।