धरान:एक साताअघि भोजपुरको हतुवागढी गाउपालिका ४ खैराङ स्थित सिरवानीमा ल्याण्डलोभर दुर्घटनामा परी घाइते भएका ९ जनालाई उपचार गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । ती मध्ये ५ जना उपचार पछि घर फिरिसकेका छन् भने ४ जना प्रतिष्ठानमा उपचाररत छन् ।

भोजपुर जिल्ला प्रदेश नं १ का मुख्यमन्त्रीको गृहजिल्ला मात्र होइन, दुर्घटनाका घाइतेहरु उनका गाउँले पनि हुन् । त्यसैले शुक्रबार दिउँसो धनकुटाको कार्यक्रम सकेर विराटनगर फर्कने क्रममा मुख्यमन्त्री राई घाइतेहरुको स्वास्थ्य अवस्थाबारे बुझ्न बिपी प्रतिष्ठान आएका थिए । शुरुमा पदाधिकारी र सम्बन्धित चिकित्सकहरुसँग घाइतेहरुको अवस्थाबारे जानकारी लिएर मात्र मुख्यमन्त्री राई घाइतेहरुलाई भेट्न वार्डमा गएका थिए ।

IMG_9350 copy

शुरुमा अर्थो अब्जरबेशनको वेड नं १३ मा राखिएकी आस्मा राईलाई भेट्न मुख्यमन्त्री पुगेका थिए । घाइते आस्मा बेडमा सुतिरहेकी थिइन् । मुख्यमन्त्रीले उनीसँग कुरा गरे, तर अधिकांश कसैले पनि बुझेनन् । मुख्यमन्त्री राईले घाइतेसँग राई वान्तवा भाषामा कुरा गरेका थिए । 'उहाले वान्तवा भाषामा देप्मी खात्मी छ ? (के कसो छ ?) भनेर सोध्नु भएको हो,'नेकपाका कार्यकर्ता एवं मुख्यमन्त्रीका आफन्तसमेत रहेका देवहाङ राईले उल्था गर्दै भने,'वडा डा.साप चिसुड्डा जम्मै डुम लिसचिआओछ,तनुननिमाङ(यहाँ डाक्टर साबहरुसँग सबै कुरा भइसकेको छ, चाडै निको हुनुहुन्छ रे) भन्नु भएको हो ।'

IMG_9348 copy

उनका अनुसार मुख्यमन्त्री राईले वान्तवा भाषामा नै समस्या लिसानालो फोन म्वाङ्नुङ(समस्या पर्यो भने मलाई फोन गर्नु ) भनेर थाप आश्वासन पनि दिएका थिए । प्रतिष्ठानमा हाल गोपाल बस्नेत, प्रितम राई, आस्मा राई र लंकमान राईको उपचार भइरहेको छ । लंकमानसँग त मुख्यमन्त्री राईले वान्तवा भाषामा नै निक्कै लामो समयसँग गफ गरेका थिए । 'उहासँग त वान्तवा भाषामा नै लामो गफ गर्नुभयो,'नातामा मुख्यमन्त्रका भतिजा देवहाङले भने । प्रतिष्ठानका पदाधिकारीहरुले सबै घाइतेहरुको उपचार निःशुल्क गराएको बताएका थिए । साथै, उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्था सुधार हुदै गएको सम्बन्धित चिकित्सकहरुले जानकारी दिएका थिए ।