मोरङ : कानेपोखरी गाउँपालिकाका एक वडाध्यक्षलाई चन्दा असुली गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ ।

क्रसर उद्योग, ढुंगागिट्टी, बालुवा निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध चन्दा असुलीको अनुमति दिएको आरोपमा कानेपोखरी गाउँपालिका–५ का वडाध्यक्ष चरणसिंह गुरुङलाई प्रहरील पक्राउ पुर्जी जारी गरेको हो।
वडाध्यक्ष गुरुङले कानेपोखरी–५ को चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता समितिका नाममा नम्बरी जग्गा संरक्षण तथा विकास निर्माणको सहयोगार्थ भन्दै रसिद बनाएर ट्रयाक्टर र ट्रिपरबाट पैसा असुल गर्न अनुमती पत्र दिएको पाइएको छ।
उनले प्रतिट्रिपर चन्दा स्वरुप १०० रुपैयाँसम्म स्थानीय उपभोक्तालाई दिनुपर्ने क्रसर उद्योगी र सर्वसाधरणसँग सहमति गराएका थिए।
चन्दा असुलीको आरोपमा दुई जना पक्राउ परेको विषयमा स्थानीयले विरोध गर्दै खोलाबाट खोलाजन्य पदार्थ निकासीमा रोक लगाएका छन्।
चन्दा असुली गरेको भन्दै प्रहरीले कानेपोखरीका रोशन दनुवार र जितन चौधरीलाई पक्राउ गरी चन्दा ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो। उनीहरु धरौटीमा रिहा भएका छन्। उनीहरुले वडाध्यक्षकै अनुमतिमा चन्दा असुल गरेको बताएपछि गुरुङलाई पूर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।