इलाम: चिकित्सा शिक्षामा सुधारसहितको विभिन्न माग राखेर विगत पाँच दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको अवस्था कमजोर बनेको छ । चिकित्सकहरुले उनको रगत जाँचको लागि प्रयास गरिरहेका छन् , तर नसा नभेटिएको डाक्टरहरुले बताएका छन् ।

गएको बुधबारदेखि डा.केसी इलामको फुलगाछीमा १६ औं आमरण अनसनमा छन् । डा.केसीका सहयोगी रहेका डा.रामकृष्ण आचार्यका अनुसार पिसाब पनि नआएको पिसाबको पनि परीक्षण हुन सकेको छैन । विगतमा भएको सम्झौता उल्लंघन गर्दै संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक ल्याए पछि डा.केसी असन्तुष्ट बनेका थिए । उनले आफुले १५ औं अनसनमा बस्दा सरकारसँग भएको सम्झौता वमोजिम विधेयक ल्याउनुपर्ने माग गरेका छन् ।

डा. केसीले गौरीबहादुर कार्की संयोजकत्वमा गठित जाँचवुझ आयोगले दिएको प्रतिवेदनमा दोषी ठहर भएका त्रिविविका पदाधिकारीसहित अन्य विभिन्न व्यक्तिहरुलाई कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् । यस्तै, चिकित्सा शिक्षा अध्ययन संस्थानलाई पुनः अधिकारसम्पन्न बनाउनुपर्ने, कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्रीपरिषदको निर्णय विपरीत दिन लागिएको सम्बन्धन तत्काल रोकेर दोषीलाई कारवाही गर्नुपर्ने, सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्नुपर्ने डा. केसीको माग छ ।

यस्तै, इलाम, उदयपुर, डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने डा.केसीको माग छ । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना सुरु गर्ने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेका छन् । चिकित्सा शिक्षाबाहेक उनले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको अपराधीहरुलाई पक्राउ गरी मुद्दा चलाउन र प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउन पनि माग गरेका छन् ।