मोरङ:मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका ३ दुर्गा चोकबाट शनिवार बेलुका लागूऔषध सहित सुनसरीको चतरा घर भएका २८ बर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सि.आर.भी. पंजावी पेट्रोल पम्पबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट लुप्रिजेसीक ५ एम्पुल, डाईजेल्याब ५ एम्पुल र फेनारगन ५ एम्पुल फेला परेको छ । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी मोरङको रंगेली नगरपलिका ५ आँपगाछीबाट लागूऔषधसहित पथरीशनिश्चरे नगरपालिका ८ का १९ बर्षीय झमक बिष्ट र १६ बर्षीय रविन माझी पनि पक्राउ परेका छन् । प्रहरी चौकी आँपगाछीबाट खटिएको प्रहरी टोलीले को २९ प २९६२ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट नाईट्राभेट ६० एम्पुल, स्पास्मोप्रोक्सिभन १६ थान र २५ ग्राम गाँजा फेलापारी बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय रंगेलीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।