जनकपुर: प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आफ्नो एनजिओलाई बजेटमा छनौट नगरेको भन्दै सचिवलाई कुटपिट गरेका छन् ।

मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटेका हुन् । सो घटनामा कुटाइ खाएका सविच झालाई उल्टै मन्त्रीको निर्देशनमा पक्राउ गरिएको छ । सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरु धर्नामा बसेका थिए । मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

सशर्त अनुदानअन्तर्गतको गरिबी निवारण उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओ छनौट नगरेको भन्दै मन्त्री यादवले आफुलाई कुटपिट गरेको सविच झाले बताएका छन् । उनका अनुसार क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएका मध्ये  ४० वटा संस्था मात्र छनौट गरिएको थियो । मन्त्री यादवले आफूले नकुटेको दाबी गर्दै सचिव झा प्रदेशका सभामुखकै अघि आफ्नो पदीय मर्यादासमेत भुलेर चर्किदै कोठाबाट निस्किएको बताए । झा गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रुपमा आएका थिए ।