रुपन्देही: प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका सिद्धार्थनगर नगरपालिका ६ का केदार सहानी इन्काउण्टरमा मारिएका छन् ।

विभिन्न फौजदारी मुद्दामा मोष्ट वाण्टेड रहेका सहानीलाई शनिबार राती प्रहरीले गोली हानी मारेको हो । प्रहरीले नाकामा चेकजाँच गर्ने क्रममा प्रहरीमाथि फायरिङ् गरेको र जवाफी कारबाही गर्दा सहानीको मृत्यु भएको रुपन्देहीका एसपी हृदय थापाले बताए । उनका अनुसार मोटरसाइकलमा आएका २ व्यक्तिले चेकजाँचमा रहेको अवस्थामा प्रहरीमाथि फायर खोलेका थिए । मोटरसाइकलमा सवार अर्का एक जना भने फरार भएको एसपी थापाले बताए ।

मारिएका सहानी विगतमा नेकपा माओवादी हुदै जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समुहमा प्रवेश गरेर चन्दा असुलीमा सक्रिय रहेको प्रहरीको भनाई छ । सहानी सवार युपी ५३ एच २०२८ भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुको साथमा भएको अटोमेटिक पेस्तोल, चेम्बरमा एक थान र म्याग्जिनमा रहेको ३ थान गोली पनि प्रहरीले वरामद गरेको जनाएको छ । मृतक सहानीको पृष्ठभुमीमा नाका क्षेत्रको तस्करीमा संलग्न थिए । फौजदारी मुद्दामा प्रहरी नियन्त्रणबाट उम्किएर उनी भारत पुगेका थिए । उनीविरुद्ध कर्तव्य ज्यान, बम विस्फोट, चन्दा,फिरौती असुली लगायत थुप्रै मुद्दा रहेको छ ।