धरान: गएको बुधबारदेखि आमरण अनसनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएपछि स्वास्थ्य मन्त्रालयको निर्देशनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिशेषज्ञ चिकित्सकहरुको टोली इलामतर्फ प्रस्थान गरेको छ ।

डा.केसीको उपचारमा सहयोग गर्न एसिस्टेन्ट डाइरेक्टर डा.विकास साहको नेतत्वमा ६ जना चिकित्सक एवं नर्ससहितको टोली धरानबाट इलाम प्रस्थान गरेका हुन् । टोलीमा मुटू रोग विशेषज्ञ डा.प्रशान्त साह, जेनरल फिजिसियन डा.अजय यादव, एनेस्थेसियोलोजी डा.सविन भण्डारी, ल्याब पर्सन जितेन्द्र यादव र आइसियु नर्स निर्मला बस्नेतको टोली इलामतर्फ प्रस्थान गरेका हुन् । विभिन्न मागहरु राखेर अनसनमा बसेका डा. केसीको स्वास्थ्य गम्भीर हुदै गएको छ । पुर्वाधार एवं बिशेषज्ञ सेवाको अभावमा थप समस्या हुने भन्दै इलामका स्वास्थ्यकर्मीहरुले डा.केसीलाई सुविधायुक्त अस्पतालमा लैजान आग्रह गर्दै आएको छ । मन्त्रालयको निर्देशन अनुसार नै बिपी प्रतिष्ठानले एउटा आइसियु बेड पनि खाली गरेर राखिएको छ ।

49896303_463478504241808_4335599980132696064_n copy  
बिशेषज्ञ चिकित्सक टोलीबाहेक बिपी प्रतिष्ठानबाट जुनियर रेसिडेन्टहरुको टोली पनि आजै इलामतर्फ प्रस्थान गरेका छन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष डा.कविराज पौडेलको नेतृत्वमा ४ जनाको टोली इलामतर्फ गएका हुन् । टोलीमा डा.पौडेलसँगै डा.देनप्रसाद आचार्य, डा.राजिव न्यौपाने र डा.अरुण सापकोटा छन् । ‘डा.केसी सरको अवस्था जोखिम छ भनेरै हाम्रो टोली पनि गएको हो, हामी सरलाई सहयोग गर्नेछौ,’डा.पौडेलले भने ।