धरान: बुधबारदेखि आमरण अनसन बसिरहेका डा.गोविन्द केसीको उपचारमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट गएको बिशेषज्ञ टोलीलाई दिउँसो बीच बाटैबाट फर्काइएको छ ।

प्रतिष्ठानले बिशेषज्ञ टोली फर्किनुको कारण केही नबताए पनि गृह मन्त्रालयको निर्देशनमा फर्किएको स्रोतले जनाएको छ । स्रोतका अनुसार गृह मन्त्रालयले डा.केसीको आन्दोलनमा सहयोग पुर्याउन गएको भन्ने बुझाई भएर प्रतिष्ठानलाई सो टोली फर्काउन दबाब दिएको थियो । त्यसैले उपकुलपति डा.राजकुमार रौनियारले विदाई गरेर इलाम हिडिसकेको टोली बीचबाटै फर्किएको हो । ‘उपचारको वहानामा डा.केसीको आन्दोलनमा सहयोग गर्न गएको भन्ने भ्रम परेछ, त्यसैले गृहबाट दबाब परेर बिशेषज्ञ टोली फर्किएको हो,’स्रोतले भन्यो । डा.केसीको आन्दोलन चर्काउन धरानबाट डाक्टरहरुको टिम आउदैछ भन्ने भ्रमले गृहको निर्देशनमा अहिले इलाम अस्पतालमा बाक्लोरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।  

अहिले प्रतिष्ठानका कोही पनि बिशेषज्ञ टोली फर्किनुको कारणबारे बताउन चाहदैनन् । ‘डाक्टर, सामग्रीहरु सबै स्टेण्डबाई छ, निर्देशन आएपछि हाम्रो टोली हिडिहाल्छ,’उपकुलपति डा.रौनियारले भने,‘यहाँबाट गएको छैन, तयार अवस्थामा छ ।’ उनले बिशेषज्ञ टोली प्रतिष्ठानबाट दिउँसो नहिडेको बताए पनि इलाम अस्पतालमा इन्टर्न गरिरहेका एक विद्यार्थीले भने उक्त टोली बीच बाटोबाट फर्किएको पुष्टि गरे । ‘उहाँहरु इलाम आउदै हुनुहुन्थ्यो, बीचबाटै फर्किनु भयो । दबाब परेर फर्किनु भयो,’इन्र्टन प्रतिक रोयले भने ।

उनका अनुसार इलाम अस्पतालमा सुरक्षाकर्मीको बाक्लो भिड छ । सशस्त्र र डिएसपी सरहरु पनि अस्पतालमा आउने जाने चलिरहेको छ । ‘डा.केसीको स्वास्थ्य राती भन्दा विहान सुधार आयो, तर एफिएफ, डिएसपी सरहरु आइरहनु भएको छ,’उनले भने । डा.केसीको उपचारमा सहयोग गर्न एसिस्टेन्ट डाइरेक्टर डा.विकास साहको नेतत्वमा ६ जना चिकित्सक एवं नर्ससहितको टोली धरानबाट इलाम प्रस्थान गरेका थिए । टोलीमा मुटू रोग विशेषज्ञ डा.प्रशान्त साह, जेनरल फिजिसियन डा.अजय यादव, एनेस्थेसियोलोजी डा.सविन भण्डारी, ल्याब पर्सन जितेन्द्र यादव र आइसियु नर्स निर्मला बस्नेत पनि थिइन् ।

                                    जेआर टोली जादै

बिशेषज्ञ टोली फर्किए पनि जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको टोली भने इलाम तर्फ गइनै रहेको छ । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष डा.कविराज पौडेलको नेतृत्वमा ४ जनाको टोली इलामतर्फ गएका हुन् । टोलीमा डा.पौडेलसँगै डा.देनप्रसाद आचार्य, डा.राजिव न्यौपाने र डा.अरुण सापकोटा छन् । ‘अर्को टोली फर्कियो भन्ने सुन्यौ, हामी चै गइनै रहेका छौ,’डा.पौडेलले भने,‘डा.केसी सरको अवस्था जोखिम छ भनेरै हाम्रो टोली पनि गएको हो, हामी सरलाई हर तरिकाले सहयोग गर्नेछौ ।’