धरान: विगत ८ दिनदेखि आमरण अनसनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकहरुको अर्को टोली आज इलामतर्फ गएको छ ।

बुधबार इलाम गएको बिशेषज्ञ चिकित्सकहरुको टोलीले डा.केसी र अर्का अनसनरत विजय थापाको पनि स्वास्थ्य परीक्षण गरेर फर्किएको थियो । उक्त टोलीले बुधबार डा.केसी र थापाको स्वास्थ्य जाँच पछि रिपोर्टसहित दुवैलाई तत्काल आइसियु तथा सिसियु भएको अस्पतालमा सार्न सरकारलाई सुझाव दिएको थियो । सो टोली बुधबार साँझ नै प्रतिष्ठन फर्किएको थियो ।

546893695Dr-KC-6

बिशेषज्ञ टोलीको रिपोर्ट र सुझाव पछि डा.केसीको उपचारमा निरन्तर रहन स्वास्थ्य मन्त्रालयको निर्देशन आएपछि आज पुनः अर्को टोली इलाम गएको हो । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.विकास साहको नेतृत्वमा ६ जना बिशेषज्ञ चिकित्सकहरुको टोली इलाम गएको हो । ‘हिजो गएको टोलीलाई स्वास्थ्य परीक्षण गरेर रिपोर्ट दिने मात्र निर्देशन थियो, त्यसैले फर्किइहाल्यौ,’सहायक अस्पताल निर्देशक डा.साहले भने,‘मन्त्रालयबाट निर्देशन आएपछि आज फेरी अर्को टोली लिएर जादैछौ ।’

डा.साहसँगै आशिष सुवेदी, डा.अदिति महासेठ,डा. राजकुमार गजमेर, ल्याब असिस्टेण्ट केशव नेपाल र नर्स देवकान्त चौधरी पनि इलाम गएका छन् । डा.साहका अनुसार यो टोली निरन्तर डा.केसी र थापाको उपचारमा खटिनेछ । करिब ५ दिनपछि अर्को टोली आउनेछ, र यो टोली धरान फर्कने उनले बताए । हिजो बिशेषज्ञ चिकित्सकहरुले डा.केसी र थापा दुवैलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएपनि दुवैले मानेका छैनन् । दुवैको उपचार इलाम अस्पतालमा भइरहेको छ । त्यहाँ भेन्टिलेटरसहितको सिसियु वा आइसियु छैन ।