धरान: भारतको दिल्ली पुर्याएर एक बालिका बिक्री गर्ने धरान १७ का ३१ बर्षीय सन्तोष राई पक्राउ परेका छन् भने पीडित बालिकालाई भारतबाट उद्दार गरिएको छ ।

गत पुष १६ गते पीडित बालिकाका दाजुले इलाका प्रहरी कार्यालय धरानमा आफ्नो बहिनीलाई भारतको दिल्लीमा बेचिएको र उद्दार गरिदिन भन्दै निवेदन दिएका थिए । उनको निवेदन पछि इलाका प्रहरी कार्यालयको पत्राचारसँगै भारतमा रहेको नेपाली दुताबासको पहलमा माईती इन्डीया र दिल्ली प्रहरी समेतको सहयोगमा पुष २४ गते पीडित बालिकाको उद्दार भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनका अुनसार पीडित बालिकाको उद्दार गरी नेपाली दुताबास मार्फत काठमाण्डौ आइसकेकी छिन् ।

उनको उद्दार भएपछि पुष २९ गते पीिडतले आफुलाई भारत पुर्याई बिक्री गर्ने धरान १७ का राईविरुद्ध मानब बेचबिखन तथा ओसार पसार मुद्दामा केन्द्रिय अनुसन्धान ब्युरोमा ब्योरोमा जाहेरी दिएकी थिइन् । पीडितले जाहेरी दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालयको सहकार्यमा राईलाई पुष ३० गते पक्राउ गरिएको थियो । हाल उनलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी मानब बेचबिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान गरिरहेको डिएसपी तिम्सिनाले जानकारी दिए ।