धरान: विगत ९ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन् जटिल बनेपछि चिकित्सकहरुको सुझाव अनुसार काठमाण्डौ लगिदैछ । डा.केसी काठमाण्डौ जान सहमत भएपछि उनलाई बोकेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एम्बुलेन्स इलामबाट हिडिसकेको छ ।

बिपी प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.विकास साहका अनुसार उक्त एम्बुलेन्सले भद्रपुर एयरपोर्टसम्म डा.केसीलाई पुर्याउनेछ । त्यहाँबाट हेलिकप्टरमार्फत डा.केसीलाई आजै राती काठमाण्डौ पुर्याउनेछ । उनका अनुसार साँझ करिब ७ बजेतिर डा.केसीको स्वास्थ्य चिन्ताजनक बनेको थियो । 'उहाँको हर्टविट एकदमै बढ्यो, अहिले ठिकै छ । राती जे पनि हुनसक्छ भनेर सिडिओ सापलाई पनि भन्यौ,' डा.साहले भने ।

स्वास्थ्य खराब भएपछि प्रजिअ श्रवणकुमार तिम्सिनासँगै राजधानीबाट पुगेका पुर्वन्यायाधिश शुसिला कार्की, केदारभक्त माथेमा, दमननाथ ढुंगानाले पनि डा.केसीलाई भेटेका थिए । सबैले कुरा गरेपछि डा.केसी काठमाण्डौ जान सहमत भएका थिए । 'हेलिकप्टरमा पनि हाम्रो २ जना डाक्टरसँगै काठमाण्डौ जानुहुन्छ,'डा.साहले भने । बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिशेषज्ञ चिकित्सकको टोलीले डा.केसीलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएको थियो । आज पुनः बिपी प्रतिष्ठानबाट अर्को टोली इलाम गएको थियो ।