झापा: चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा ८ दिनअघि आमरण अनशन गरिरहेका युवा विजय थापालाई पनि आज बिहान थप उपचारका लागि झापाबाट काठमाडौँ लगिएको छ ।

नेपाली सेनाको एनए ००५५ कलसाइन भएको हेलिकप्टर आज बिहान १० बजे अनशनकारी थापालाई लिएर चन्द्रगढी विमानस्थलबाट काठमाडौँ उडेको हो । थापाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र इलाममा उपचार सम्भव नभएको चिकित्सकले बताएपछि उनलाई आज बिहान ३ बजे इलामबाट एम्बुलेन्समार्फत झापा ल्याइएको थियो । झापा ल्याएर उनलाई मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखिएको थियो ।

डा. गोविन्द केसीलाई बिहिबार मध्यरातमा नै नेपाली सेनाकै एमआई १७ नाइटभिजन हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो । दुवै अनशनकारीलाई जीवनरक्षाका लागि थप उपचार आवश्यक भएको हुँदा सरकारले नै काठमाडौँ लैजाने व्यवस्था मिलाएको हो । दुवैलाई एउटै हेलिकप्टरमार्फत राति नै काठमाडौँ लैजाने तयारी सरकारले गरेता पनि चन्द्रगढी विमानस्थलमा अनशनकारी थापालाई ल्याउन आधा घण्टा ढिलाइ भएको थियो । डा केसीको स्वास्थ्य झन् नाजुक बनेपछि केसीलाई मात्र लिएर सेनाको हेलिकप्टर राति काठमाडौँ उडेको थियो ।