धरान:छानविनको कारण देखाउदै स्वास्थ्य मन्त्री उपेन्द्र यादवको निर्देशनमा रोकिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी विस्तार कार्य पुनः सुचारु भएको छ ।

मन्त्री यादवको निर्देशनमा रोकिएको झण्डै ६ महिनापछि प्रतिष्ठानको इर्मजेन्सी विस्तार कार्य सुचारु भएको हो । इर्मजेन्सी विस्तारको कार्यक्रम तथा बजेट कार्यकारिणी समिति र सिनेट बैठकबाट पारित भएअनुसार प्रतिष्ठानले गत साउन अन्तिम साता निर्माण कार्य थालेको थियो । करिब ६ महिनापछि मन्त्रालयबाट फुकुवा भएपछि पुनः बिहिबारदेखि ठेकेदार कम्पनीले निर्माण कार्य थालनी गरेको छ । ‘काम शुरु भयो, यो काम चाडो सकियो भने धेरै राहत मिल्छ,’प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियारले भने ।

pic 1,bpkihs emergency copy

क्षमताभन्दा दोब्बर विरामीहरु इर्मजेन्सीमा उपचारको लागि आउछन् । जसले गर्दा इर्मजेन्सीमा उपचार सेवा नै प्रभावित हुनेगर्छ । प्रतिष्ठानका इर्मजेन्सी विभाग प्रमुख डा.ज्ञानेन्द्र मल्लका अनुसार अहिले इर्मजेन्सीको क्षमता बढीमा ६५ जना विरामीको मात्र हो । तर, यहाँ दैनिक जसो १ सय २० को हाराहारीमा उपचार गराउन विरामीहरु आउछन् । ‘धेरै अघिदेखि हामीले क्षमता विस्तार होस् भनेर माग गर्दै आएका थियौ, अस्ति काम शुरु भएकै दिन रोकिदा ज्यादै दुःख लागेको थियो,’डा.मल्लले भने,‘अहिले फेरी कय शुरु भएछ, खुशी लाग्यो । चाडो सम्पन्न होस् ।’

इर्मजेन्सीमा विरामीको चाप कस्तो छ भने चिकित्सकहरुले विरामीलाई भुइमा राखेर उपचार गराउनुपर्ने अवस्था छ । एचआइभी संक्रमित, टि.बि.लागेका विरामीहरुलाई अलग्गै कोठा आवश्यक हुन्छ, तर पुर्वाधार अभावमा समस्या भइरहेको डा.मल्ले बताए । हाल ४० बेड क्षमताको इर्मजेन्सी विस्तार हुन लागेको हो । यो निर्माण सम्पन्न हुदा धेरै राहत पुग्ने डा.मल्लको भनाई छ ।