सप्तरी : सप्तरीमा बुधबार विहान (आज) प्रहरी ‘इन्काउन्टर’मा एकजनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुठभेडमा दीपेन्द्र जयसवाल भनिने दीपेन्द्र चौधरी मृत्यु भएको हो ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख हरिबहादुर पालले प्रहरी मुठभेडमा चौधरीको मृत्यु भएको पुष्टि गरेको छ । उनका अनुसार प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीतर्फबाट पनि फायरिङ भएको थियो । यही क्रममा उनको घटनास्थलमै मृत्यु भएको पालले जानकारी दिए । चौधरीमाथि २ गोली लागेको छ ।

गएको एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए । सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका प्रहरीमाथि गोली प्रहार भएको थियो ।

दीपेन्द्र २०७२ सालमा प्रहरी असई रमेश सुब्बाको हत्यामा संलग्न रहेको बताइएको छ । त्यतिबेला उनले प्रहरीको भ्यानमाथि एम्बुस थापेर घटना गराएको प्रहरीको दाबी छ । उनी अन्य विभिन्न आपराधिक कार्यमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।

तराईको सशस्त्र समूह गोइत समूहको पूर्व कार्यकर्ता चौधरी अहिले आफ्नै समूह बनाएर चन्दा असुली, हप्ता असुली गरी भूमिगत गतिविधि सञ्चालन गर्दै आइरहेको बताइएको छ ।