धरान: विगत १५ दिनदेखि १६ औं आमरण अनसनमा बसिरहेका डा.गोविन्द केसीको मागप्रति सरकारले लचक हुने वा सम्बोधन गर्ने भन पनि थप कठोर हुने संकेत देखाएको छ ।

डा.केसीसँगको सम्झौता विपरीत ल्याइएको भनिएको चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्दे प्रस्तुत हुन दिइरहेको छैन । यस्तै, नागरिक अगुवाहरुले पनि विगतमा डा.केसीसँग सरकारले नै गरेको सम्झौता पालना गर्न दबाब दिइरहे पनि सरकार भने झन् कडारुपमा प्रस्तुत हुन थालेको छ । बिहिबार सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले चिकित्सा शिक्षा विधेयक जसरी पनि संसदबाट पारित
गर्ने अभिव्यक्ति दिएका छन् ।

सिंहदरवारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले केसीले हावामा तरबार चलाउन खोजेको भन्दै सरकार आफ्नो अडानबाट पछि नहट्ने संकेत गरे । उनले शिक्षा तथा स्वास्थ्य समितिले तयार पारेको चिकित्सा शिक्षा विधेयकले डा. केसीसँग विगतमा भएको सम्झौतालाई सम्बोधन गरेको दाबी पनि गरे । उनले केसीको अनशनको कुनै औचित्य नरहेको भन्दै सरकार पछि नहट्ने सकेत गरे । सरकारका प्रवक्ता बाँस्कोटाले भने “‘सरकारले प्रस्तुत गरेको विधेयक समितिबाट पास भएर आएको छ र यो अब प्रक्रियाबाट पास हुन्छ, हुनुपर्छ।”

डा.केसीले इलामबाट १६ औं आमरण अनसन सुरु गरेका थिए । उनको स्वास्थ्य अवस्था गम्भिर बनेपछि नेपाली सेनाको हेलिकप्टरबाट झापाको भद्रपुर हुदै एक साताअघि मध्यरातमा काठमाडौ लगिएको थियो । केदारभक्त माथेमा आयोगको प्रतिवेदन तथा विगतमा सरकारले आफुसँग गरेको सम्झौता अनुसार विधेयक ल्याउनुपर्ने माग गर्दै डा. केसी १६ औं पटक आमरण अनसनमा छन् ।