धरान: नयाँ शक्ति पार्टी नेपालले १ नम्बर प्रदेशमा पाँचथरको चिवा भञ्ज्याङ्बाट मध्यपहाडी लोकमार्ग(पुष्पलाल लोकमार्ग)हुदै प्रदेश नम्बर ७ को बैतडीमा पर्ने झुलाघाटसम्मको एक महिना लामो जनसंवादसहितको यात्रा गर्ने भएको छ ।

असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ भन्ने नारासहित एक महिने यात्रा कार्यक्रम पार्टीका संयोजक एवं पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा हुने प्रदेश १ का प्रवक्ता दलमर्दन कामीले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् । प्रवक्ता कार्मीका अनुसार मध्यपहाडी लोकमार्ग यात्रा कार्यक्रम माघ १५ गते पाँचथरको चिवा भञ्ज्याङ्बाट सुरु हुनेछ । 'कार्यक्रम प्रदेश नम्बर ७ को बैतडीस्थित झुलाघाटमा पुगेर सम्पन्न हुनेछ,'नयाँ शक्तिको प्रदेश १ प्रवक्ता कामीले भने ।

उनका अनुसार यात्रामा पार्टीले अंगालेको वैकल्पिक विचार, असल राजनीतिलाई जनता समक्ष प्रचार प्रसार गर्दै र जनताको सुझाव पनि लिइनेछ । यस्तै, पार्टीले अघि सारेको समानुपातिक समावेशी, बिकास, समृद्धिको खाका र अवधारणालाई प्रष्टसँग जनतामा पुर्‍याउने पनि यो अभियान भएको नयाँ शक्तिले जनाएको छ । यस्तै, बर्तमान अवस्थामा संघीयता, धर्मनिरपेक्षता कार्यान्वयनमा देखापरेका अकर्मण्यता र हतोत्साहलाई अन्त्य गर्दै जनताको पक्षमा दृढतापूर्वक काम कसरी गर्ने भन्ने विषयमा पनि स्थानीय तहका जनप्रतिनिधि र आम सरोकारवालालाई प्रशिक्षित गर्ने उद्देश्य रहेको छ । 'हाम्रो मुल उद्देश्य त आम जनतासँग प्रत्यक्ष भेट गर्ने नै हो,'उनले भने ।

कार्यक्रमले भौगोलिक विकटता र मानव बिकास सूचकांकमा पछाडी परेको यस क्षेत्रलाई अभियानको आधारक्षेत्रको रुपमा स्थापित गर्न नयाँ शक्ति पार्टीले जनाएको छ । कार्यक्रमलाई सफल बनाउन स्थानीय जनता र जनताका प्रतिनिधिहरु बीच सम्बाद तथा जनगुनासो सुन्ने काम हुनेछ । यस्तै, आगामी कार्यक्रम तय गर्ने तथा देशका समसामयिक बिषयबस्तुबारे पार्टीको धारणा सार्बजनिक पनि गरिनेछ भने युवा, विद्यार्थी, बुद्धिजीवी, शिक्षक, पत्रकार, समाजसेवीलगायतसँग सिधा सम्बन्ध स्थापित गर्ने तथा समाजको बिकास र समृद्धिलाई कसरी अगाडि बढाउने र युवा शक्तिको विदेश पलायन रोक्ने भन्ने बिषयमा गम्भीर विमर्श पनि हुने प्रवक्ता कामीले बताए ।