धरान (डेस्क): मोरङको सुन्दर हरैचा नगरपालिका ९, विराटचोक नजिकै ट्रिपरले एक बालिकालाई ठक्कर दिएर मृत्यु भएपछि अहिले त्यसक्षेत्र तनावग्रस्त बनेको छ ।

आज बिहानै विराटचोक विराटनगर सडकखण्डमा पर्ने सिसौघारीमा ट्रिपरले ठक्कर दिदा एक ११ बर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो । घटना बिहान करिब ९ बजेको समयमा भएको हो । घटनास्थल विराटचोकदेखि करिब २ किलोमिटर दक्षिण पर्छ । घटनापछि ट्रिपरको ज्यादती बढेको भन्दै आक्रोशित स्थानीयबासीले करिब ६ वटा जति ट्रिपरमा आगजनी गरेका छन् ।

ना ३ ख ३३५५ नम्बरको ट्रिपरले ठक्कर दिदा बालिका ढकालको मृत्युु भएको थियो । आक्रोशित स्थानीयबासीले शुरुमा ठक्कर दिने ट्रिपरमा आगजनी गरेका थिए । त्यसपछि लगातार नदीजन्य पदार्थ बोकेर आएको अन्य ट्रिपरहरुमा पनि आगजनी गरे । मोरङको उत्तरी क्षेत्रका विभिन्न नदीबाट ढुंगा, गिट्टी, बालुवालगायत सामग्री बोकेर विराटनगर क्षेत्रमा लैजान ट्रिपरले विराटचोक विराटनगर सडकखण्ड प्रयोग गर्ने गर्छ । घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएपनि हजारौको संख्यामा आक्रोशित स्थानीयबासी जम्मा भएकोले स्थिति तनावग्रस्त छ ।

50661376_10214206349819163_

स्थानीयबासीको उपस्थितिले भिड नियन्त्रणमा लिन प्रहरीलाई हम्मे परिरहेको छ । दमकल आएपनि ट्रिपरमा लागेको आगो नियन्त्रणमा लिन स्थानीयको कारण सम्भव भएन । घटनास्थलमा रहेका प्रत्यक्षदर्शी पत्रकार मिलन विछोडका अनुसार प्रशासनले निषेधाज्ञा जारी गरेपनि हजारौंको संख्यामा सर्वसाधारणहरुको उपस्थिति भएको कारण उल्लंघन हुने क्रम जारी छ । प्रशासनले विराटचोकदेखि दक्षिण बेलेपुरसम्म ४ किलोमिटर सडक खण्ड निषेधाज्ञा जारी गरेको छ । स्थिति थप तनावग्रस्त हुने सम्भावना भएकोले प्रहरी प्रशासनले कफ्र्युको लगाउनसक्ने अनुमान गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीका अनुसार चार किल्ला तोकेर सवा ११ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको हो । प्रशासनले उत्तरमा विराटचोकदेखि दक्षिण वेलेपुर, पुर्वमा सुकुना बहुमुखी क्याम्पसदेखि पश्चिम बुधबारेसम्म चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी भएको क्षेत्रमा भेला हुन, प्रर्दशन गर्न प्रतिबन्ध भएपनि हजारौंको संख्यामा सर्वसाधारणहरु उपस्थित छन् ।