धरान(डेस्क): ट्रिपरको ठक्करले बालिकाको मृत्यु पछि तनावग्रस्त बनेको सुन्दर हरैचा नगरपालिकास्थित विराटचोक क्षेत्रमा मोरङ प्रशासनले निषेधाज्ञा जारी गरेपनि स्थानीयबासीको प्रर्दशन रोकिएको छैन ।

घटनास्थलमा रहेका पत्रकार मिलन विछोडका अनुसार ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यद्यपी, घटनाबाट आक्रोशित हजारौंको संख्यामा सर्वसाधारणहरु निषेधित क्षेत्रमा जम्मा भएका छन् । उनीहरुले सडकमा धर्ना बसेर प्रर्दशन एवं नाराबाजी गरिरहेको पत्रकार मिलन विछोडले जानकारी दिए । उनका अनुसार केहीबेरअघि पुर्व पश्चिम महेन्द्र राजमार्ग पनि विद्यार्थीहरुले टायर बालेर बन्द गराएका थिए । तर, प्रहरीको हस्तक्षेप पछि अहिले पुर्वपश्चिम राजमार्ग भने सुचारु भएको छ ।
आक्रोशित स्थानीयबासीहरुले ११ बर्षीय बालिका लक्ष्मी ढकाललाई ठक्कर दिने ट्रिपर ना ३ ख ३३५५ का चालकलाई आफुहरुको जिम्मा दिनुपर्ने, विराटचोक–विराटनगर सडकखण्डमा ट्रिपर सञ्चालन गर्न प्रतिबन्ध लगाउनुपर्नेलगायत माग गर्दै चर्को नाराबाजी गरिरहेका छन् ।

Untitled-1 5

आज बिहान करिब ९ बजे विराटचोक विराटनगर सडकखण्डमा पर्ने सिसौघारीमा ट्रिपरले ठक्कर दिएर बालिकाको मृत्यु भएको थियो । घटनास्थल विराटचोकदेखि करिब २ किलोमिटर दक्षिण पर्छ । घटनापछि ट्रिपरको ज्यादती बढेको भन्दै आक्रोशित स्थानीयबासीले ७ वटा ट्रिपरमा आगजनी गरेको मोरङ प्रशासनले पुष्टि गरिसकेको छ । हजारौको संख्यामा सर्वसाधारणहरु प्रर्दशनमा उत्रिएपछि हिंसात्मक घटना हुन नदिन मोरङ प्रशासनले सवा ११ बजेदेखि विराटचोकदेखि दक्षिण बेलेपुरसम्म ४ किलोमिटर सडक खण्ड निषेधाज्ञा जारी गरेको छ । प्रशासनले उत्तरमा विराटचोकदेखि दक्षिण वेलेपुर, पुर्वमा सुकुना बहुमुखी क्याम्पसदेखि पश्चिम बुधबारेसम्म चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी भएको क्षेत्रमा भेला हुन, प्रर्दशन गर्न प्रतिबन्ध भएपनि हजारौंको संख्यामा सर्वसाधारणहरु उपस्थित छन् ।

वार्तामा आउन प्रशासनको आह्वान

विराटचोक क्षेत्रको स्थिति तनावग्रस्त बन्दै गएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ । बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय पनि गरेको छ । साथै, प्रर्दशनमा उत्रिएका आक्रोशित स्थानीयबासीहरुलाई वार्तामा आउन आह्वान गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । उनले भने,‘उहाँहरुलाई वार्तामा आउन आग्रह गरिसकेका छौ, खबर पुर्याएका छौ, वार्तामा आउनुपर्छ ।’