धरान (डेस्क): मोरङको सुन्दर हरैचा नगरपालिका ९, सिसौघारीमा ट्रिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि अशान्त बनेको विराटचौक क्षेत्र विस्तारै शान्त हुदै गएको छ ।

जनप्रतिनिधिहरुको पहलमा भएको बैठकमा आन्दोलित स्थानीयबासीसँग सहमति भएपछि दिनभर जसो तनावग्रस्त बनेको विराटचोक क्षेत्र साँझ शान्त हुदै गएको हो । सुन्दर हरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालको अध्यक्षतामा सर्वपक्षीय बैठक बसेर आन्दोलित स्थानीयबासीसँग ७ बुँदे सहमति भएको थियो । स्थानीयबासीको माग अनुसार विराटचोक विराटनगर सडक खण्डमा हाललाई ट्रिपर सञ्चालनमा पुर्ण प्रतिबन्ध लगाउने निर्णय भएपछि स्थानीयबासी सहमतिमा आएका हुन् । सहमति भएपछि मृतक ११ बर्षी लक्ष्मी ढकालको शव पोष्टमार्टम गर्न लैजान स्थानीयबासीहरु पनि सहमत भएका थिए ।

मोरङ जिल्ला प्रहरी प्रमुख एवं एसपी मनोेज केसीका अनुसार बैठकले उक्त सडक खण्डमा ट्रिपरको कारण अत्यधिक दुर्घटना भएकोले हाललाई पुर्णरुपमा ट्रिपर सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय भएको जानकारी दिए । यस्तै, ना ३ ख ३३५५ नम्बरको ट्रिपर चालकको लापरवाहीले बालिकाको ज्यान गएकोले कानुन वमोजिम कारबाही गर्ने, क्षतिपूर्ति दिने लगायत सहमति भएको छ । ‘यो प्रहरी प्रशासनले भन्दा पनि जनप्रतिनिधि, स्थानीय तहको पहलमा भएको सहमति हो, तर बैठकमा हाम्रो प्रतिनिधिहरु पनि थिए,’एसपी केसीले भने ।

50661376_10214206349819163_

सुन्दर हरैचाका प्रमुख ढकालको अध्यक्षतामा भएको बैठकमा प्रदेश सांसद राजकुमार ओझा, उपप्रमुख धनमाया तामाङ, जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईलगायत बुद्धिजिवि, सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो । आज बिहान करिब ९ बजे तीब्र गतिमा गुडेको ट्रिपरले बालिकाको मृत्यु भएको आक्रोशित स्थानीयबासीले ट्रिपरहरुमा आगजनी गरेको थियो । प्रहरी प्रमुख एसपीका अनुसार आक्रोशित स्थानीयबासीले ७ वटा ट्रिपरमा आगजनी गरेको पुष्टि भएको छ ।

स्थिति तनावग्रस्त बनेपछि प्रशासनले बिहान सवा ११ बजेदेखि निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । तर, स्थानीयबासीले त्यसको उल्लंघन गर्दै सडकमा धर्ना बसेर प्रर्दशन र नाराबाजी जारी राखेको थियो । यहीबीचमा जनप्रतिनिधिहरुले स्थिति सामान्य बनाउन महत्वपुर्ण भुमिका खेलेका थिए ।