धरान:चुरे फेदी सहायक राजमार्ग भनिएको धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौडा सडक आयोजना(पुर्वी खण्ड)अन्र्तगतको सडकको मापदण्ड १४० फिट कायम हुदा हजारौं घरबारविहिन हुने भन्दै प्रत्यक्ष असर पर्ने धराने नागरिकहरु आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने धनकुटे रोडको प्रवेशलाई जिरो पोइन्ट मानिएको चुरे फेदी सहायक राजमार्गलाई बाइपास गरेर लैजानुपर्ने भन्दै सरकार र स्थानीय सरकार धरान उपमहानगरपालिकासँग माग गरेका छन् । २०७३ सालमा नै धनकुटे रोड संयुक्त उपभोक्ता संघर्ष समिति गठन गरेर आन्दोलित बनेका स्थानीयबासीहरुले मंगलबार पुनः उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । प्ले कार्डसहित नाराबाजी गर्दै प्रभावित वडाबासीहरु उपमहानगरपालिकामा पुगेर ज्ञापन पत्र बुझाएका थिए । त्यसअघि कोणसभा गर्दै उनीहरुले जनता उठिबास लगाउन नहुने भन्दै जनप्रतिनिधिहरुको चर्को आलोचना पनि गरे ।

IMG_9725

सहायक राजमार्गको मापदण्ड १४० फिट कायम भए अहिले सडक दाँयाबाँया बसोबास गर्ने हजारौ जनताहरु घरबारविहिन भएर सुकुम्बासी हुने उनीहरुले बताउदै आएका छन् । संघर्ष समितिको निरन्तरको पहलबाट यसअघि नै सडक डिभिजन, सडकको क्षेत्रीय निर्देशनालय, सडक विभाग हुदै भौतिक पुर्वाधार मन्त्रालयबाट बाइपासको लागि स्थलगत सर्वे तथा टिप्पणी आदेश भएको र आयोजनाले पनि बाइपास गर्न उपयुक्त हुन्छ भनि टिप्पणी उठाइ सकेको संघर्ष समितिका संयोजक निनामचन्द्र राईले बताए । हाल सडक डिभिजनले बाइपास गर्न उचित छ कि छैन भनि स्थानीय सरकारलाई सोधेको १० महिना बितिसक्दा पनि जवाफ नहुदा ढिलाई भइरहेको उनले बताए । ‘मन्त्रालय, विभाग, डिभिजन कार्यालय र आयोजना कार्यालयले पनि सर्वे गरेर बाइपास नगरे ठुलो क्षति हुन्छ भन्ने भएपछि टिप्पणी उठाएर बाइपास गर्नु उपयुक्त हुन्छ भनिसक्यो, धरान उपमहानगरलाई बाइपास गर्नु ठिक छ कि छैन भनेर सोधेको १० महिना बितिसक्यो कुनै जवाफ दिएको छैन,’उनले भने ।

IMG_9729

अहिले १४० फिट मापदण्ड अनुसार यो सडकको दाँयाबाँया भएका विभिन्न वडाबासीहरुको जग्गा रोक्का छ । जसले गर्दा उनीहरुले किनबेच, घर बनाउन, बैंकिङ कारोबार गर्न पाएका छैनन् । उनीहरुले उपमहानगरले अबिलम्ब बाइपासको लागि पत्र पठाउनुपर्ने र रोक्का जग्गा फुकुवा गर्नुपर्ने माग गरेका छन् । यो सडकखण्डमा वडा नं ८, १०, १९, १८ र १७ पर्छ । संघर्ष समितिले वडाबासीहरुले धरानको तीनकुनेदेखि पुरानो घोपा क्याम्प जाने बाटो हुदै वीपी प्रतिष्ठानको दक्षिण गेट हुदै सर्दु खोलाको रेलको लिकबाट बाइपास गर्नुपर्ने प्रस्ताव गरेका छन् । ‘सडकको डिइ, आयोजनाका कार्यालय सबैबाट आएर सर्वे गरेपछि माथिबाट धेरै क्षति हुन्छ भनेर तलबाट बाइपास उचित हुन्छ भन्ने टिप्पणी उठिसकेको छ, अब नगरपालिकाले निर्णय गरेर आफ्नो धारणा सार्वजनिक नगर्दा समस्या भइरहेको छ,’संयोजक राईले भने ।

IMG_20190129_124157