तेह्रथुम : जिल्ला प्रहरी कार्यालय तेह्रथुमले फरार अभियुक्त पक्राउ कार्यमा सकृयता देखाएको छ । तेह्रथुम प्रहरीले गत भदौ महिनादेखि हालसम्ममा विभिन्न शीर्षकका ११ जना आरोपितलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमको सकृयतामा पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ पर्नेमा मोरङ डाँगीहाट घर भएका मिलन ओझा रहेका छन् । तेह्रथुमको आठराईमा ज्यान मुद्दामा संलग्न ओझालाई २०७३ कात्तिक २३ गत्ते जिल्ला अदालत तेह्रथुमले कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल सजायको फैसला सुनाएलगत्तै उनी फरार रहेका थिए ।

त्यसैगरी कर्तव्य ज्यान मुद्दामा फरार छथर गाउँपालिका पञ्चकन्यापञ्चकन्याका सचिन विक, रामबहादुर विक र सावित्रा विक पनि पक्राउ परेका छन् । उनीहरुविरुद्ध पत्तचकन्या निवासी मीरा सार्कीको हत्या गरेको भनी मृतकका बुवा टंकबहादुर सार्कीले जाहेरी दिएका थिए । त्यस्तै पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दामै फरार आठराई गाउँपालिका ईवा घर भई हाल झापाको विर्तामोड बस्दै आएका देवेन्द्र उप्रेती रहेका छन् । उनी २०७२ साल असारमा सोही ठाउँ बस्ने एक महिलाको हत्या गरी फरार रहेका थिए । पक्राउ पर्नेमा आठराई गाउँपालिका ६ का विशाल विश्वकर्मा रहेका छन् । त्यस्तै ज्यान मार्ने उद्योग मुद्दामा फरार फेदा गाउँपालिका ५ इसिबु निवासी रोशन तामाङलाई पनि पक्राउ गरीएको छ । त्यसैगरी भ्रष्टाचार मुद्दाका अभियुक्त छथर गाउँपालिका ओख्रेका देवेन्द्र कार्कीलाई पनि पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ ।

अर्का पक्राउ पर्नेमा लालीगुराँस नगरपालिका ३ का शंकर थापा रहेका छन् । उनी एक महिलालाई जबरजस्ती करणी गरी २०७४ असोजदेखी फरार रहेका थिए । कर्तव्य ज्यान मुद्दामा फरार रहेका आठराई चुहानडाँडाका डबल घिसिङ, केही सार्वजनिक मुद्दामा फरार फेदाप गाँउपालिका ५ इसिबुका भीमबहादुर कार्की र चोरी मुद्दाका अभियुक्त आठराई गाउँपालिका थोक्लुङका जयनारायण चौलागाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका कैद भुक्तानका लागि कारागारमा पठाइएको तेह्रथुम प्रहरीले जानकारी दिएको छ ।

–नागरिक पूर्वेलीबाट