धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विरामी कुरुवाको मोवाइल, पैसालगायत सामान चोरी हुनु नौलो होइन । त्यसरी चोरी भएको सामान फेला पर्ने वा चोर समातिएको घटना सायदै सुनिएको छ ।

आज बिहानै भने मोवाइल, पैसा चोरी गर्ने व्यक्तिलाई विरामीका कुरुवाहरुले नै पक्राउ गरेका छन् । धनकुटाको खोकु छिन्ताङ घर बताउने २७ बर्षीय राम थापालाई प्रतिष्ठानको मेडिसिन वार्डमा विरामीका आफन्तहरुले पक्राउ गरेका थिए । त्यसक्रममा थापालाई कुरुवाहरुले कुटपिट समेत गरे । चोरीमा संलग्न थापा आफु पनि विरामी कुरुवा झै बनेर अस्पतालमा बस्ने र अन्य कुरुवाहरुको सामान चोरी गर्ने गरेको पाइएको छ ।

मेडिसिन युनिट १ मा विरामी रहेका विरामीका आफन्त टिका माङ्लेका अनुसार थापा आफै म्याट्रेस बोकेर विरामी कुरुवा जस्तै गरी बस्ने गरेका थिए । उनी घरी वार्डभित्र जान्थे, घरि बाहिर म्याट्रेस ओछ्याएर बस्थे । ‘उ पनि कुरुवा जस्तै गरेर अरु विरामी कुरुवाको छेउमा बस्ने गर्दो रहेछ, वार्ड भित्र पनि आउजाउ गर्ने रहेछ,’उनले भने,‘सामान चोरी भयो भनेर हल्ला हुदा उसले नै पहिला कस्ले चोर्यो ? के हरायो ? भन्दै सोधी खोजी गर्ने रहेछ ।’

51079006_1991212851006650_7 1

एक पछि अर्को सामान हराउन थालेपछि वास्तविक कुरुवाहरुले थापामाथि शंका गरेर समातेका थिए । त्यसपछि तलासी लिदा हराएको औठी फेला परेपछि कुरुवाहरुले कुटपिटसमेत गरेका थिए । थापाले मेडिसिन युनिट १ मा फुपुको कुरुवा बसेकी सीता इजमको पैसा, औठीसहितको झोला चोरी गरेका थिए भने कोपिला लिम्बूको एउटा मोवाइल चोरी गरेका थिए । सीताको झोलामा करिब ३४ सय रुपैया, २ वटा चादीको औठी र एउटा चुरा पनि थियो । यस्तै, थापाले झापाका अमृतेस ठाकुरको एउटा मोवाइल र धरान १७ का सनम राईको २ वटा गरी कुल ४ वटा मोवाइल पनि चोरी गरेका थिए ।

चोरेको सामानहरु थापाले एकै ठाउँमा राखेका थिएनन् । उनको गोजीमा २ वटा औठी र चुरा थियो भने मोवाइलहरु अस्पतालमा तारको झुप्पाभित्र चेपमा अलग अलग ठाउँमा लुकाएर राखेका थिए । ‘चोरेर लाने, लुकाउने र फेरी आउने, अनि चोरेर लैजाने गर्दो रहेछ,’माङ्लेले भने । पक्राउ परेका थापालाई कुरुवाहरुले इलाका प्रहरी कार्यालय धरानमा बुझाएका छन् । प्रहरी निरीक्षक अशोक जगेबुका अनुसार उजुरी आएमा चोरी मुद्दा दर्ता गरी कार्वाही अघि बढाउने बताए । उजुरी नपरे सार्वजनिक मुद्दा भएपनि चलाएर कार्वाही हुने बताए ।