विराटनगर: मुख्यमन्त्री शेरधन राईले आजदेखि शुरु हुने प्रदेश नं १ संसदको हिउँदे अधिवेशनको मुख्य एजेण्डा प्रदेशको नामकरण र स्थानीय राजधानी हुने बताएका छन् ।

संसद शुरु हुनुअघि आज बिहान करिब ११ बजे मुख्यमन्त्ती तथा मन्त्रीपरिषद कार्यलयमा पत्रकार भेटघाट कार्यक्रम गर्दै मुख्यमन्त्री राईले यो कुराको जानकारी दिएका हुन् । उनले पत्रकार भेटघाट कार्यक्रममा हिउँदे अधिवेशनमा संसदमा प्रवेश पाउने बिषयहरुबारे प्रष्ट्याएका थिए । मुख्यमन्त्री राईले यो अधिवेशनमा प्रदेशको नामकरण र स्थायी राजधानीको बिषय सर्वाधिक चासोकोरुपमा हेरिएको भन्दै संसदमा यी दुवै एजेण्डा यो अधिवेशनको मुख्य एजेण्डा बन्ने प्रष्ट्याए । 'प्रदेशको नाम के रहने र स्थायी राजधानी कहाँ हुने हो भन्ने सबैको चासो छ, विगतको अधिवेशनबाट यो बिषय टुंगो लाग्न सकेन । त्यसैले पनि यो अधिवेशनमा मुख्य मुद्दा बनाइनेछ,'मुख्यमन्त्री राईले भने ।

मुख्यमन्त्री राईले पेचिलो बनेको प्रदेश नामकरण र राजधानीको बिषयलाइ सहमतिबाटै टुंग्याउन पहल भइरहेको पनि बताए । सहमति जुट्न नसके प्रक्रियाबाटै समाधान हुने उनको धारणा थियो । 'एजेण्डाहरुमा सबै दलसँग सहमति गरेरै जान्छौ, सबै जिम्मेवार हुनुपर्छ,'मुख्यमन्त्री राईको भनाई थियो,'नाम र राजधानीबारे सहमति जुट्न नसके सर्वभौम संसदलाई अधिकार छ।' 

हिउँदे अधिवेशन आज दिउँसो ३ बजे शुरु हुदैछ । प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले अधिवेशनको आह्वान गरिसकेका छन् । हिउँदे अधिवेशनले संसदबाट पारित हुने विधेयक र समिति सभापतिको विषय पनि टुंगो लगाउने छ । बजेट कार्यान्वयको चरणमा प्रदेश अघि बढिसकेको भन्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले कृषिलाई आधुनिकीकरण गरेर खाद्यान्नमा आत्मनिर्भर बनाउने योजना ल्याइने पनि बताए ।