विराटनगर: प्रदेश नं १ को नामकरण र स्थायी राजधानी टुंगो लगाउने मुख्य प्राथमिकता रहेको भनिएको हिउँदे अधिवेशन आइतबारदेखि शुरु भएको छ ।

हिउँदे अधिवशेन शुरु भएसँगै आइतबार दिउँसो विभिन्न पहिचान तथा संघीयवादी दल, संगठनहरुले प्रदेशसभा भवन अघि धर्ना दिएका थिए । खासगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चआवद्ध विभिन्न दल, संगठनहरुले प्रदेशको नामकरणको बिषयमा दबाब स्वरुप धर्ना दिएका थिए । कुमार लिङदेनको नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवन मञ्च, संघीय दलित शिल्पी मञ्च, खम्बुवान राष्ट्रिय मोर्चालगायतले पहिचानमा आधारित प्रदेशको नामकरणको माग गर्दै धर्ना दिएको हो । हिउँदे अधिवेशन करिब ३ बजे शुरु हुनुअगावै ती दल तथा संगठनका नेता, कार्यकर्ताहरु विभिन्न जिल्लाबाट विराटनगरमा केन्द्रित भएका थिए । उनीहरुले संसद भवन अघिसम्म वृहत र्यालीसमेत निकाले ।

51408256_546895852483654_39

संघीय लिम्बूवान मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमका अनुसार सांकेतिक विरोध स्वरुपम आज धर्ना दिइएको हो । प्रदेशको हिउँदे अधिवेशनले प्रदेश नामको टुंगो लगाउने भएकोले आफुहरुको माग अनुसार पहिचानमा आधारित अरुण पुर्व ९ जिल्ला लिम्बूवान हुनुपर्ने मुख्य माग राखेर सांकेतिक आन्दोलन गरिएको उनले बताए । धर्नामा भने खम्बुवान राष्ट्रिय मोर्चाले खम्बुवान लिम्बूवान किरात प्रदेश नामांकनको माग गर्दै ब्यानर प्रर्दशन पनि गरेको थियो । लिम्बूवान मञ्चले भने अरुण पुर्वका ९ जिल्ला लिम्बूवान र बाँकीमा किरात खम्बुवान नामकरण हुनुपर्ने ब्यानरसहित धर्ना बसेको थियो ।

सरकारको आलोचना

वैठकको पहिलो दिन सांसदहरुले सरकारको आलोचनासँगै सहकार्यमा जोड दिएका थिए । बैठकमा नेपाली काङ्ग्रेसको संसदीय दलका नेता राजिव कोइरालाले सरकारसँग सहकार्य गर्ने तर पिछलग्गु भने नहुने बताए । प्रदेश सरकारले समयमा बजेट कार्यान्वयन नगर्दा प्रतिपक्षसमेत बदनाम हुने अवस्थामा पुगेको उनले आरोप लगाए ।

संघीय समाजवादी फोरम संसदिय दलका नेता जयराम यादवले प्रदेश राजधानी र नामाङकनको विषय टुङ्गो लगाए पछि मात्र विकास र समृद्धिको बाटोमा अगाडी बढन सकिने बताए । उनले संसदीय समिति र मन्त्रिमण्डल पूर्णता दिनु पर्ने बताए । उनले सरकारले एक वर्षमा गरेको कामको विवरण ल्याएर जनतालाई जानकारी दिनु पर्नेसमेत बताए । बैठकमा नेकपा संसदीय दलका उपनेता तथा अर्थमन्त्री टंक आङबोले प्रदेश सरकारले बजटे तर्जुमा गरे पनि कर्मचारी समायोजन, नयाँ अभ्यास, संघीय सरकारबाट हस्तान्तरणमा समस्यालगायतको कारणले बजेट कार्यान्वयनमा ढिलाई भएको बताए ।

हिउँदे अधिवेशनको बैठकपछि सभामुख प्रदिपकुमार भण्डारीले पत्रकारहरुसँगको छलफलमा समितिका सभापति चयन गर्ने, प्रदेशको नाम र राजधानीको विषयलाई पनि औपचारीक रुपमा अघि बढाउने बताए । प्रदेशको नाम र राजधानीको विषयलाई नियमावली संसोधन गरेर प्रक्रिया अगाडी बढाइने जानकराी दिए । उनले संसदमा दर्ता भएका ४ वटा र समितिमा छलफल भइरहेका २ वटा विधेयक सहित ६ वटा विधेयक विजेनस रहेको बताए । त्यसबाहेक सरकारबाट ५/६ वटा विधेयक आउने भएकोले हिउँदे अधिवेशन संचालन गर्ने विजनेस पुग्ने उनले बताए ।