धरान(डेस्क): विवाह गर्ने भनेर भारततर्फ बेच्न लैजादै गरेको आशंकामा सुनसरीको भण्डावारी सिमा चेकपोष्टले एक किसोरीसहित युवालाई पक्राउ गरेको छ ।

कोशी गाउँपालिका ८ स्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको टोलीसहित मानव अधिकारकर्मीसमेतले किसोरीको उद्दार र उनलाई भारततर्फ लैजादै गरेका युवालाई पनि पक्राउ गरेको हो । चारकुने बोर्डर इलाकामा युवायुवती मास्क लगाएर भारततर्फ गइरहेको देखेर शंका लागि सोधपुछ गर्न कार्यालयमा लगेको थियो । सशस्त्र पोष्टका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर भण्डारी, मावनअधिकारकर्मी सिवेन्द्र कर्णले दुवैलाई सोधपुछ गर्दा बिहे गर्ने भनेर भारततर्फ लैजादै गरेको पाइए पनि बेचविखन गर्न लगेको हुनसक्ने आशंकामा पक्राउ गरेको थियो ।

51538745_1984500231854710_7
अधिकारकर्मी कर्णका अनुसार किसोरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका ४ की १९ बर्षीय स्वास्तिका कटवाल हुन् भने उनलाई भारत लैजादै गरेका व्यक्ति सप्तरी जिल्लाको खडक नगरपालिका ६ का २१ बर्षीय मोहमद अलिम अन्सारी हुन् । अन्सारीले किसोरीलाई बेचबिखन गर्न लगेको हुनसक्ने भन्दै सशस्त्र पोष्टले सीमा प्रहरी चौकी भण्टाबारीलाई पत्रलेखेर दुवै जनालाई जिम्मा लगाएको अधिकारकर्मी कर्णले जानकारी दिए । ‘किसोरीले आफ्नो उमेर १९ बर्ष बताए पनि उनको परिचय खुल्ने केही पनि थिएन, उनी अझै कम उमेरको हो जस्तो देखिन्छ,’उनले भने ।

कर्णका अनुसार सोधपुछ गर्न बोलाएपछि स्वास्तिकालाई आमाबुबाको नम्बरमा फोन गर्न लगाउदा डराएकी थिइन् । उनलाई मोहमदसँग भेट गराइदिने व्यक्ति इनरुवाका अर्के भएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘ती व्यक्तिले बिहे गर्छ भनेर दुवैजनाको भेट गराइदिएको रहेछ, मोहमदले चै भारत लगेर बिहे गर्ने भनेर लैजादै गरेको थियो,’कर्णले भने । यद्यपी, जिल्ला प्रहरी कार्यालय इनरुवाले भने दुवैबीच प्रेम सम्बन्ध रहेको र बिहे गरेर जान खोजेको बताएको छ । बुधबार अभिभावक बोलाएर छलफल गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।