धरान: विरामीको उपचारमा अत्यावश्यक पर्ने अक्सिजनको उत्पादनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आत्मनिर्भर बनेको छ ।

अस्पताललाई आवश्यकता भन्दा दोब्बर अक्सिजन उत्पादन क्षमता भएको अक्सिजन प्लान्ट आज बिहिबारदेखि सञ्चालनमा आएको छ । एक समारोहबीच प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियार र अस्पताल निर्देशक डा.गौरीशंकर साहले प्लान्टको उद्घाटन गरेका छन् । प्रतिष्ठान हाताभित्र रहेको अक्सिजन प्लान्टबाट प्रतिमिनेट १६ सय लिटर उत्पादन हुन्छ । एक घण्टामा १० वटा सिलिण्डर भर्नसकिने बुस्टर क्षमता छ भने दिनमा ६० वटा सिलिण्डर भर्न सकिने बोयोमेडिकल इञ्जिनियर प्रदिपराज साहले जानकारी दिए ।

IMG_20190207_095143

प्रतिष्ठानका उपकुलपति डा.रौनियारका अनुसार नयाँ प्लान्ट सञ्चालनमा आएपछि प्रतिष्ठान अक्सिजनमा आत्मनिर्भर भएको र भविष्यमा सिलिण्डरविहिन बनाउने योजना रहेको बताए । उनका अनुसार अहिले पनि अधिकांश विरामी उपचार हुने वार्ड, आइसियु, एनआइसियुलगायत स्थानमा पाइपमार्फत अक्सिजन पुगेको छ । यसलाई थप विस्तार गर्दै भविष्यमा सिलिण्डरलाई विस्थापित गरिने उनले बताए । ‘वीपीलाई सिलिण्डरविहिन बनाउनुपर्छ, विरामी भएको ठाउँसम्म पाइपमार्फत नै अक्सिजन पुर्याउने योजना छ,’उनले भने ।

दैनिक ७० हजार खर्च बचत

IMG_20190207_091634

प्रतिष्ठानका अस्पताल निर्देशक डा.साहका अनुसार आफ्नै अक्सिजन प्लान्ट भएपछि बाहिरबाट अक्सिजन खरीद गर्नुपदैन । जसले गर्दा प्रतिष्ठानको ठुलो खर्च जोगिन्छ । ‘हाम्रो प्रतिदिन अक्सिजनमा मात्र ६० देखि ७० लाख खर्च हुन्थ्यो, सिलिण्डर खरीद गर्नुपथ्र्यो,’अस्पताल निर्देशक डा.साहले भने,‘यो ठुलो खर्च जोगिने भएको छ ।’

अक्सिजनको लागि कच्च पदार्थ खरीद गर्नुपदैन । वातावरणमा भएको हावालाई नै मेशिनले लिएर अक्सिजन उत्पादन गर्ने भएकोले खर्च नै हुदैन । प्लान्टमा खटिने ३ जना प्राविधिकलाई र विजुलीमा मात्र खर्च हुन्छ । मेशिन खरीदमा एकमुष्ट ३ करोड बढी खर्च भएको हो । प्रतिष्ठानको स्थापनाकालको पुरानो प्लान्ट थियो । त्यो न्युन क्षमताको थियो भने ६ महिनादेखि उक्त प्लान्ट बन्द थियो । उक्त पुरानो प्लान्टलाई पनि मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्ने प्रतिष्ठानले जनाएको छ ।

IMG_20190207_093729 IMG_20190207_091554