तेह्रथुम : तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं.७ ले बिपन्नसँग नगरपालिका कार्यक्रम अन्र्तगत वडाका विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ ।

गरिबीका कारण घरको छानो लगाउन नसकेका भूमिहीन, गरिब, पिछडिएको समुदाय र दलित घरधुरीलाई जस्तापाता वितरण गरिएको वडाध्यक्ष नारायणप्रसाद आचार्यले बताए ।
वडा कार्यालयले जस्तापातासँगै विपन्न परिवारलाई मिटर बक्स तथा वाईरिङ सामाग्री, फर्निचर र फोटोकपी मेसिन समेत प्रदान गरेको छ । वडा क्षेत्रका तीन परिवारलाई ११ बण्डेल जस्तापाता उपलब्ध गराइएको वडाध्यक्ष आचार्यले बताए । यस्तै गरिबीकै कारण विद्युत जडान गर्न नसकेका चार परिवारलाई मिटरबक्स सहित वाइरिङ सामाग्री समेत वडाले प्रदान गरेको छ ।
वडा कार्यालयले स्थानीय पाथीभरा समुहलाई २० थान प्लाष्टिक कुर्सी र बिश्वनाथ मन्दिरलाई १२ थान प्लाष्टिक कुर्सी समेत उपलब्ध गराएको छ । वडाले स्थानीय स्वास्थ्य चौकीको सेवा बिस्तार गरिएसँगै थप प्रबिधियुक्त काम गर्नकालागि एक थान फोटोकपी मेसिन समेत उपलब्ध गराएको वडासचिव रामप्रसाद भटराईले बताए ।

वडाले एक कार्यक्रमका बीच नगर प्रमुख सन्जयकुमार तुम्बाहाङ्फेको उपस्थितिमा स्थानीय इन्द्रेणी समुहलाई घुम्तीकोष मार्फत सञ्चालन गर्न सहज होस् भन्ने उदेश्यले नगद ६० हजार समेत प्रदान गरेको छ । वडा कार्यालयद्धारा आयोजित बिपन्न परिवारलाई सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख तुम्बाहाङ्फेले सिंगो नगरपालिका नै विपन्न र गरिबहरुको उन्थानको पक्षमा रहेको बताए । उनले विपन्न समुदायलाइ लक्षित गरी विभिन्न कार्यक्रमहरु बनाइएको समेत बताए ।