तेह्रथुम: भरुवा बन्दुकले प्रहार गरी आफ्नै साथीलाई मार्न खोजेको आरोपमा तेह्रथुममा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

प्रहरीले भरुवा बन्दुकले साथीलाई प्रहार गरेको भन्ने उजुरीका आधारमा फेदाप गाउँपालिका–१, सिम्लेका वर्ष २६ का विश्व कुरुम्बाङ र वर्ष १९ का सविन लिम्बुलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नारायण गौतमले बताए । उनीहरुले गत माघ २१ गते राति ९ बजे स्थानीय वर्ष १७ का सुसन लिम्बुलाई बन्दुकले प्रहार गरी घाइते बनाएका थिए ।

पेटमा चोट लागेर गम्भीर घाइते भएका लिम्बुको हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारमा भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई पीडित सुसनका बुवा जसबहादुर कुरुम्बाङको उजुरीका आधारमा बुधबार धरानबाट पक्राउ गरी मुद्दा दर्ता गरिएको र पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता गौतमले जानकारी दिए । घटनामा संलग्न रहेका विश्वको घरबाट प्रहरीले एक थान भरुवा बन्दुक समेत बरामद गरेको छ ।