धरान: धरान-पानवारा सडक खण्डमा पर्ने भर्खर निर्माण भएको सेउती पुल र सेहरा पुलको बीचमा सामुदायिक वनले लगाएको तारजालीमा ठोक्किएर एउटा वयस्क चित्तल मरेको छ ।

शुरुमा मुन्टो भाचिएको अवस्थामा फेला परेको चित्तलको केही समयपछि मृत्यु भएको हो । पानवारी सामुदायिक वनले विरुवा जोगाउन भन्दै लगाएको तारजाली र सिमेन्टको पिलरमा ठोकिएर चित्तल गम्भीर घाइते भएको थियो । जंगलको उत्तरपट्टि जारजाली छैन, तर दक्षिण पट्टिी सिमेन्टको पिलर ठड्याएर जालीले घेराबारा गरिएको छ । बीचमा सडक पर्छ ।

chitall

वन्यजन्तु ओहोर दोहोर गर्दा गाडीको आवाज र हर्नले वन्यजन्तु त्रसिएर तीब्र गतिमा दौडने गर्छन् । त्यसबेला तारजाली नदेखिदा ठोक्किएर मर्ने गरेको छ । यो घटना पहिलो पटक मात्र भएको होइन । वडा नं ६ का अध्यक्ष भुवनसिंह बस्नेतले यसअघि पनि केही चित्तलहरु जारजालीमा ठोकिएर घाइते भएको, अड्किएको अवस्थमा भेटिएको बताए ।

घाइते चित्तललाई प्रहरीले वन कार्यालयको जिम्मा लगाएको थियो । वनले भेटनरी डाक्टर बोलाएर उपचारको तयारी गर्दागर्दै चित्तलको मृत्यु भएको सहायक वन अधिकृत ज्ञानकुमार लामाले जानकारी दिए ।