धरान: माग सुनुवाई नगरेको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरुले आज बिहान चारै जना पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गर्ने घोषणा गरेका थिए । इन्टर्नहरुको मागबारे कार्यकारिणी समितिबाट निर्णय हुनुपर्छ । पदाधिकारीहरु बीचको मनमुटावले कार्यकारिणी समिति बैठक बस्न नकसेपछि इन्टर्नहरुले तालाबन्दी गर्ने कार्यक्रम तय गरे ।

तर, आज बुधबार बिहान ११ बजेको तालाबन्दी कार्यक्रम एक्कासी रोकियो । शिक्षाध्यक्ष डा.गुरु खनालले आन्दोलनरत इन्टर्नहरुलाई वार्तामा बोलाएपछि ४ बुँदे सहमति भयो । सहमति पछि १० दिनदेखि आन्दोलनरत इन्टर्नहरुले आन्दोलन स्थगित गरेका छन् । वीपीमा डेढ सयको हाराहारीमा इन्टर्नहरु छन् । उनीहरुले आफ्नो मासिक तलब ज्यादै न्युन भएको भन्दै सरकारी मेडिकल कलेजका इन्टर्नहरुले जतिकै सुविधा पाउनुपर्ने माग गरेका छन् । वीपीका इन्टर्नहरुले मासिक ११ हजार ८ सय पाउछन् । उनीहरुले १६ हजार दिनुपर्ने माग गरेका छन् । यस्तै, हरेक बर्ष महंगी भत्ता वृद्धि हुनुपर्ने पनि उनीहरुको माग छ ।

के भयो सहमति ?

IMG_20190213_112648

इन्र्टन डाक्टरहरुको मागबारे अध्ययन तथा विश्लेषण गरी उपयुक्त सुझाव पेश गर्न डिन प्रा.डा.श्याम थापा संयोजक रहेको ७ सदस्यीय समिति गठन भएको छ । समितिले ५ दिनभित्र उपयुक्त सुझाव पेश गर्नेछ । उक्त सुझावलाई प्रतिष्ठानको उपकुलपति सक्षम पेश गर्ने र कार्यान्वयनको लागि पहल गर्ने सहमति भएको विद्यार्थी कल्याण समाजका प्रवक्ता डा.समीर घिमिरेले जानकारी दिए । यो सहमति पछि आन्दोलन स्थगित गरिएको उनले बताए ।

समितिमा कार्यकारिणी समिति सदस्य प्रा.डा.माधव लम्साल, अस्पताल उपनिर्देशक डा.पप्पु रिजाल, कार्यकारिणी सदस्य डा.प्रभात रञ्जन पोखरेल, विद्यार्थी कल्याण समाजकातर्फबाट डा.अभिषेक अमर, डा. राहुल कुमार साह र इन्टर्न डा.बमबहादुर कुँवर सदस्य छन् । प्रतिष्ठानका इन्टर्नहरु माघ २१ गतेदेखि आन्दोलनमा उत्रिएका थिए ।

IMG_20190213_112654