इटहरी : विराटनगरकी मेघा घिमिरेको करेन्ट लागेर दुवै हात काटिएको तीन वर्ष भयो । तर, उनले उपचार र खर्चको अभावमा कृत्रिम हात समेत लाउन सकेकी छैनन् ।

आँफूले विराटनगर १७ का विकास कार्कीसँग प्रेम विवाह गरेको दश महिनामा घर बनाउने क्रममा करेन्ट लागेको उनी बताउँछिन् । करेन्ट लागेपछि उनी उपचार गर्नबाट बञ्चित बनिन् । करेन्ट लागेर दुबै हात काट्नुपरेपछि आफ्नो हातको पीडा भुल्न नपाउँदै श्रीमानले पनि डिभोर्स दिएपछि उनी थप पीडामा परिन् ।
केही महिना अगाडि मात्रै पनि करेन्ट लागेर दुवै हात काटिएका कृष्ण वलीको सर्वसाधारण मानिसबाट सहयोग उठाएर उपचार गरिराखेको समाचार मिडियामा आएपछि उनी आँफू पनि सहयोगको अपिल गरेकी छिन् । करेन्ट लागेर मेरो दुवै हात गुमेपछि परिवारको पनि अपहेलना जस्तै भयो उनले गहभरी आँशु पार्दै भनिन्, म अहिले माईतमा (विराटनगर ८ ) बस्दै आएकी छु, म बाँच्न चाहन्छु कसैले सहयोग गरिदिए मेरो जीवनमा उज्यालो छाउँथ्यो ।

कृत्रिम हात लगाउनका लागि ७० लाख रुपैँया लागत लाग्ने र त्यसका लागि सहयोगको खाँचो रहेको उनले बताईन् । भारत जानुपर्नेछ उपचारका लागि तर पैसा नै छैन, उनले भनिन् ।
यसैबीच बुधबार जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा बापतको रकम कटाएर घिमिरेलाइ १५ हजार २ सय ९५ रुपैँया सहयोग गरिएको बिनोद खड्काले बताए । उनको उपचारका लागि अन्य मानिसहरुले पनि सहयोग गर्नु आवश्यक रहेको खड्काले बताए ।