धरान (डेस्क) : विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् ।

नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् । यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछन् ।

भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ । यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।

प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए ।

उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाँय सुनाएर जेलमा राखे । उनलाई सन् २६९ को फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।

सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।