जनकपुर : धनुषाको मिला नगरपालिका–३ हरिहरपुरकी एक १० वर्षीय बालिकाको वीभत्स तरिकाले हत्या भएको छ ।

आगोले जलाएर हत्या गरेको अवस्थामा नारायण रसाईलीकी १० वर्षीय छोरी दुतिया रसाईलीको हत्या भएको हो । बुधबार साँझ बालिका दुतिया गाउँमै बिहेको भोज खान गएकी थिईन् । स्थानीयका अनुसार विहेमा राति अबेरसम्म उनले नाचसमेत प्रस्तुत गरेकी थिईन् । पछि अचानक उनी हराईन । अभिभावकले खाना खाएर सुत्न घर गएको सोचेर खोजी गरेनन् । तर विहान उखु खेतमा जलाएर हत्या गरिएको अवस्थामा उनको शव फेला पर्यो ।

धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले उखुको पातले जलाएर आधा शरिर जलेको अवस्थामा बालिका दुतियाको शव विहिबार विहान फेला परेको जानकारी दिए । उनले खबर पाएलगत्तै घटनास्थल पुगेर हेटौँडाबाट कुकुर मगाएर अनुसन्धान थालेको सुनाए । उनले आशंकामा ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ पश्चात छाडेको र अपराधी चाडैँ पत्ता लाग्ने बताए ।

–नागरिक पूर्वेली दैनिकबाट