विराटनगर: १ नम्बर प्रदेश अन्तर्गत पाँचथर, मोरङ र सुनसरी जिल्लामा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् ।

मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका ३ लालीखर्कमा स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बिहान करिब साढे ११ बजे लालिखर्कबाट फिदिमतर्फ आउँदै गरेको मे ४ प २५७३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने वर्ष ३८ को गोपाल राई घाइते भएका थिए । ठक्करबाट गम्भीर घाइते राईलाई उपचारको लागि पाँचथरस्थित समर्पित अस्पताल पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनामा स्कुटर चालक सोही स्थान बस्ने वर्ष ५० को टंक श्रेष्ठ समेत घाइते भई सोही अस्पतालमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका ३ मा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जना घाइते भएका छन् । दिउँसो सवा १ बजे भित्री सडक खण्डमा दक्षिणबाट उतरतर्फ आउँदै गरेको को ८ प ८३११ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाईकल चालक मोरङ रतुवामाई नगरपालिका ५ सिजुवा बस्ने बर्ष ३१ को बीर बहादुर माझी घाइते भई उपचारको लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यता कोशी राजमार्ग अन्तर्गत सुनसरीको ईटहरी उपमहानगरपालिका १२ खनार चौकमा स्कुल बसको ठक्करबाट १ जना पैदलयात्री घाइते भएकी छन् । बिहान साढे १० बजे ईटहरीबाट खनारतर्फ जाँदै गरेको को १ च २२९२ नम्बरको हिमाली सेकेण्डरी बोर्डिङ स्कुलको बसले इटहरी १३ बस्ने बर्ष ४५ की पैदलयात्री वर्ष ४५ की नेविया खातुनलाई सडक पार गर्ने क्रममा ठक्कर दिएको थियो । घटनास्थलमा प्रहरी चौकी खनारबाट प्रहरी टोली खटि गई घाइते खातुनलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएको उक्त कार्यालयले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।