इटहरी : जापानमा मासु काट्ने काम मिलाइदिन्छु भन्दै एक युवा इटहरी आसपासका सर्वसाधारणहरुबाट रकम लिएर फरार भएका छन् ।

उनी जापान जापानमा मासु काट्ने काम मिलाइदिन्छु भन्दै इटहरी ५ का स्थानीयबाट ठगी गरी फरार भएका हुन् । विर्तामोडका निलमणि अधिकारीले जापान लान्छु, राम्रो कमाइ हुन्छ भन्दै ठगी गरेको पीडितहरुले बताएका छन् । जापानमा काम गर्ने वातावरण मिलाउँछु भनेर १ लाख २० हजार ठगेको इटहरी ५ का चुडामणि गेलालले बताए । ‘अधिकारीले महिनाको अढाइ लाख कमाइ हुन्छ, जापानमा मेरो मान्छे छ, त्यहाँ पठाउँछु भनेका थिए । जाने बेलामा १२ लाख दिने सहमति भएको थियो’ पीडित गेलालले भने । ‘विदेश जाने चक्करमा मैले शुरुमा २ लाख रुपैयाँ दिएको थिए । बिचमा पठाउन सक्दिन भन्दै दुइ पटक गरेर ८० हजार फिर्ता दियो, १ लाख २० हजार रुपैयाँ बाँकी छ । अहिले फोन पनि ण्ठाउदैन, दुःख गरेर कमाएको पैसा खाइदियो’ गेलालले भने, ‘हामीलाई मात्र हैन, विर्तामोडमा सानो कार्यालय खोलेर दर्जनौलाई ठगेका छन्, प्रहरीले खोजी गरिदियोस् ।’ इटहरी ५ कै कुमार प्रसाद भट्टराईले पनि १ लाख ३० हजार रुपैयाँ जापान लैजाने भन्दै खाइदिएको बताए ।

‘प्रहरी कार्यालय बारम्बार गएपनि प्रहरीले वास्ता गरेन । पैसा माग्दा साथी हो भन्दै उल्टै धम्क्याउने गरेको छ’ भट्टराईले भने, ‘हामी विर्तामोडको प्रहरी कार्यालयमा धेरै पटक गयौँ तर हाम्रो कुरा प्रहरीले पनि सुनेन ।’ इटहरी ५ कै बासुदेव अधिकारीले पनि एक लाख ४० हजार डुबेको बताए । आफु जस्ता दर्जनौलाई ठगेको उनको भनाई छ ।

ब्लाष्ट टाइम्स दैनिकबाट