धरान(डेस्क): पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाको दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ ।

केही बेरअघि प्रहरी हवल्दारको नेतृत्वमा दुर्घटनास्थल पुगेको प्रहरी टोलीले हेलिकप्टरमा सवार सबैको मृत्यु भएको पुष्टि गरेका हुन् । धरानस्थित संघीय प्रहरी इकाई कार्यालयका प्रमुख एसएसपी शरदकुमार खत्रीका अनुसार पाथीभारा मन्दिरमा रहेको चौकीका हवल्दारको टिम दुर्घटनास्थलमा पुगेको छ । सोही टोलीले दुर्घटनमा सवार सबैको मृत्यु भएको पुष्टि गरेका हुन् । ‘पाथीभारा मन्दिरबाट हवल्दारको टोली दुर्घटनस्थलमा पुगिसकेको छ,’एसएसपी खत्रीले भने,‘सबैको घटनास्थमा मृत्यु भइसकेको खबर पायौ ।’

एसएसपी खत्रीका अनुसार मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडाबाट विमानस्थल अवलोकन गरेर पाथीभारा देवीको दर्शन गर्न गएका थिए । पाथीभाराको दर्शन गरीसकेर फर्कदै गर्दा तारे भिरमा हेलिकप्टर दुर्घटना भएको खत्रीले बताए । ‘दुर्घटनास्थल पुग्न कठिन भयो, आज एक्कासी मौषम पनि बिग्रियो,’उनले थपे ।

को को सवार थिए हेलिकप्टरमा ?

दुर्घटनामा भएको हेलिकप्टरमा मन्त्री अधिकारीसँगै यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्यान प्राधिकारणका निर्देशक ध्रुव श्रेष्ठ, उपनिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, मन्त्री अधिकारीका सुरक्षा गार्ड नेपाली सेनाका जमदार अर्जुन घिमिरे र पाइलट प्रभाकर केसी थिए ।