धरान: किरात राई यायोक्खाले १० औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बुधबार बृहत मोटरसाकल र्यालीसहित प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीलाई स्मरणपत्र बुझाएको छ ।

पूर्वका सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम, झापालगायतबाट मोटरसाइकल र्यालीसहित अस्थायी राजधानी विराटनगर पुगेर प्रदेशसभाका सभामुख भण्डारीलाई स्मरणपत्र बुझाइएको हो । यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले उक्त स्मरणपत्र सभामुख भण्डारीलाई बुझाएका थिए । प्रदेश १ का नामाकरण ‘किरात’ प्रदेश हुनपर्छ भनेर २५ लाख हस्ताक्षरसहित यसअघि नै बुझाइएको ज्ञापनपत्रलाई स्मरणपत्रको रुपमा पुनः बुझाइएको यायोक्खाका केन्द्रीय अध्यक्ष राईले बताए । ‘प्रदेश १ को नामाकरण ‘किरात’ हुनुपर्छ भनेर सभामुख र मुख्यमन्त्रीलाई पहिला हामीले २५ लाख हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका थियौं, तर, त्यतिबेला प्रदेशसभाले निर्णय गर्न सकेन । फेरी अहिले प्रदेशसभाको हिउँदे अधिवेशन शुरु भएको छ, त्यसैले नामकरण टुङगो लगाउने भनेपछि हामीले पहिलाको ज्ञापनपत्रलाई स्मरणपत्रको रुपमा अहिले सभामुखलाई बुझाएका छौं,’अध्यक्ष राईले भने ।

सहमतिका आधारमा प्रदेश १ लाई ‘किरात’ नामाकरण गर्न आग्रह गरेको राईले बताए । यता सभामुख भण्डारीले ‘किरात’को विषयमा आफु जानकार भएको बताए । व्यक्तिगत रुपमा सहमत भएपनि पदीय हिसाबले किरातको विषयमा आफुले सक्दो समन्वयको भुमिका खेल्ने उनले बताए । ‘किरात सभ्यता, संस्कृतिप्रति म राम्रो जानकार छु, म व्याक्तिगत रुपमा पोजिटिभ पनि छु, तर पदीय हिसाबले म सक्दो समन्वयको भुमिका खेल्ने छु’ सभामुख भण्डारीको भनाई उदृत गर्दै किराया केन्द्रीय अध्यक्ष राईले भने ।

S7420009

धरान–१० स्थित किराया जिल्ला कार्यसमिति सुनसरीको कार्यालयबाट शुरु भएको मोटरसाइकल र्याली, धनकुटे रोड, बुद्धचोक, रत्नचोक, मंगलबारे, चतरालाइन हुदै छाताचोक भनुचोक हुदै विराटनगर पुगेको थियो । इटहरीमा इलाम, झापा र उदयपुरका समेत जम्मा भएर विराटनगर गएको आयोजकले जनाएको छ । यायोक्खाको महाधिवेशन यही फाल्गुन १८, १९ र २० गते धरानमा हुदैछ । भानुचोकमा हुने महाधिवेशनको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । महाधिवेशनमा सहभागी हुनको लागि स्वदेश तथा विदेशबाट करिब १ हजार जना प्रतनिधि र पर्यबेक्षकहरुको सहभागीता रहेने जनायएको छ । महाधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।