धरान: हेलिकप्टर दुर्घटनामा साँस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि सरकारले बिहीबार राष्ट्रिय शोक घोषणा गरेको छ ।

बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको घटनापछि मन्त्रीपरिषदको आकस्मिक बैठक बसेको थियो । उक्त बैठकले एक दिन राष्ट्रिय शोक घोषणा गर्नुका साथै बिहिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । बैठकले स्वदेशका सरकारी एवं सार्वजनिक कार्यालयहरु, शैक्षिक संस्थाहरु र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साथै, सबै सरकारी कार्यालयहरुमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको छ ।

राजकीय सम्मान दिइने

मन्त्रीपरिषद बैठकले मन्त्री अधिकारीको अन्तिम संस्कार राजकीय सम्मानको साथ गर्ने निर्णय गरेको छ । बैठकले दुर्घटनालाई अकल्पनीय, अप्रत्यासित र दुःखद भन्दै राष्ट्रलाई अपुरणीय क्षति पुगेको पनि ठहर गरेको छ ।