धरान (डेस्क) : बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री सहित सातैजनाको शव दुर्घटनास्थलबाट सुकेटार विमानस्थलमा र्पुयाइएको छ । ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएकामध्ये चारजनाको शव बुधबार नै सुकेटार र्पुयाइएकोमा बाँकी तीनजनाको शव आज विहान सुकेटार पुर्याइएको हो ।

खराब मौसमका कारण बुधबार ल्याउन नसकेपछि प्रहरी तथा सेनाको टोलीले रातभर घटनास्थलमै कुरेर बसेका थिए  । दुर्घटनास्थलमा हेलिकप्टर अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर शव संकलन गरेको हो । ताप्लेजुङमा बुधबारभन्दा मौसम केही सुधार भए पनि पुरै भने खुलेको छैन ।

सरकारले पर्यटन मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै बिहीबार सार्वजनिक बिदा दिएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुको दाहसंस्कार राजकीय सम्मानका साथ गर्ने निर्णय पनि सरकारले गरेको छ । सरकारले हेलिकप्टर दुर्घटनाका बारेमा जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेश गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा चार सदस्यीय जाँच आयोग पनि गठन गरेको छ ।

तस्विर : उज्यालोबाट