धरान: ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव पोष्टमार्टम गर्न समय लागेपछि आज हुने भनिएको अन्तिम श्रद्धाञ्जली सभा स्थगित भएको छ ।

मन्त्री अधिकारीसहित सातै जनाको पोष्टमार्टम शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ । मन्त्री अधिकारी र उनको सुरक्षा गार्ड अर्जुन घिमिरेको मात्र शव पहिचान भएको चिकित्सकहरुले जनाएका छन् । पोष्टमार्टम गर्न समय लाग्ने भएपछि आज ३ बजे तय भएको टुँडिखेलमा अन्तिम श्रद्धाञ्जली कार्यक्रम स्थगित गरेको नेकपाका महासचिव विष्णु पौडेलले विज्ञप्ती जारी गर्दै जानकारी दिएका थिए । मृतक सबैको पोस्टमार्टमपछि अन्तिम श्रद्धाञ्जलिका लागि टुँडिखेलमा शव राखिने कार्यक्रम तय भएको थियो ।

महासचिव पौडेलले विज्ञप्तीमा अन्तिम श्रद्धाञ्जली कार्यक्रम भोली शुक्रबार बिहान हुने जनाएका छन् । पौडेलका अनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जली कार्यक्रम हुनेछ । मन्त्री अधिकारी र सुरक्षा गार्ड घिमिरेको शव पहिचान भएपनि सबैको शव पुर्णरुपमा जलेको कारण अन्यको पहिचानमा समस्या भएको प्रहरीले जनाएको छ । पहिचान हुन नसकेका अन्यको शव डीएनए परीक्षण गरेर पत्ता लगाउने प्रहरीको भनाई छ ।