धरान: केन्द्रमा दुई तिहाईको सरकार नेकपाको छ । यस्तै, २ नम्बर प्रदेशबाहेक अन्य ६ प्रदेशमा पनि नेकपाकै एकलौटी सरकार छ । प्रदेश नं १ को धरानमा भने नेकपाका युवा कार्यकर्ताहरु पार्टी छोडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसले हालै एक कार्यक्रम आयोजना गरी नेकपाका १ सय ५१ कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएको दाबी गरेको छ ।जनतालाई झुक्याएको र युवाहरुलाई दुरुपयोग गरेको भन्दै ती युवाहरु नेकपा त्यागेर कांग्रेस प्रवेश गरेको कांग्रेसले जनाएको छ । धरान १५ का पप्पु लिम्वु, सुमन लिम्वु, असिम राई, सिमन बस्नेत लगायतका युवाहरुको नेतृत्वमा ती युवाहरु कांग्रेस प्रवेश गरेका थिए ।

congress-prabesh9

धरान नगर सभापति तिलक राईको अध्यक्षतामा सम्पन्न प्रवेश कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, जिल्ला सदस्य गोविन्द बस्नेत, क्षेत्रीय सचिव मुरारी भट्टराई, पूर्व नगर सभापति किशोर राई, १५ नं. वडा सभापति गणेश सुब्बा, नगर सदस्य तथा ५ नं. वडा अध्यक्ष सन्तोष लिम्वु, नेपाल तरुण दल धरानका सभापति हिमाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य उमेश थापा, पर्वत राई, जिल्ला सदस्य माधव घिसिङ, मोहन बस्नेतलगायतको उपस्थिति रहेको थियो ।