काठमाडौं: बुधबार पाथीभारा मन्दिर दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा निधन भएका सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीको राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।

प्रधानमन्त्री ओलीले अन्य मृतकहरुको शवमा फुलमाला चढाएर सम्मान व्यक्त गरेका थिए भने मन्त्री अधिकारीको शवमा राष्ट्रिय झण्डा ओढाएका थिए । बुधबार ताप्लेजुङको पाथीभरा क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको ज्यान गएको थियो । उनीहरुको शव हिजो बिहिबार मात्र ताप्लेजुङबाट हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको थियो । दुर्घटनास्थल विकट हुनुको साथै मौषम प्रतिकुल भएको कारण शव निकाल्न निक्कै गाह्रो भएको थियो । बिहिबार नै टुडिखेलमा श्रद्धाञ्जली कार्यक्रम राख्ने तय भएपनि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गर्न समय लागेकोले स्थगित गरेर आजलाई सारिएको थियो । मृतकको शव पहिचान भएपछि आज बिहान श्रद्धाञ्जलीका लागी टुँडिखेलमा राखिएको थियो ।

हेलि दुर्घटनामा मन्त्री अधिकारी सहित प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यू भएको थियो। मन्त्री अधिकारीसहितको टोली बुधबार तेह्रथुमको चुहानडाँडामा बन्ने विमानस्थलको अवलोकन गरेर पाथीभारा देवीको दर्शन गर्न गएका थिए । पाथीभाराको दर्शन गरीसकेर फर्कने क्रममा उडेको केहीबेरमा नै तारेभीरमा हेलिकप्टर दुर्घटना भएको थियो ।