धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.राजकुमार रौनियारलाई पदबाट बर्खास्त गरिएको छ ।

प्रतिष्ठानको भर्खर सम्पन्न भएको सिनेट बैठकले उनलाई पदबाट बर्खास्त गरेको हो । उनलाई बर्खास्त गरेपछि प्रतिष्ठानको निमित्त उपकुलपतिको अधिकार रेक्टर डा.गुरु खनाललाई दिइएको छ । ‘बैठकले उपकुलपतिलाई बर्खास्त गरेको हो,’प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले भने । प्रतिष्ठानको बिषयमा यसअघि छानबिन भएको २ वटा प्रतिवेदनको आधारमा उनलाई बर्खास्त गरेको रजिष्ट्रार श्रेष्ठले बताए ।

सिनेटको निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारी र पछि सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनको आधारमा उपकुलपति रौनियारलाई बर्खास्त गरिएकोे रजिष्ट्रार श्रेष्ठले जानकारी दिए । ‘दुई वटै प्रतिवेदनको आधारमा पदीय दायित्व पुरा नगरेको कारण सिनेटले बर्खास्त गर्ने निर्णय गरेको हो,’रजिष्ट्रार श्रेष्ठले भने ।

प्रतिवेदनबारे मन्त्री यादवले हिजोको मितिमा सिनेट बैठक बोलाएका थिए । हिजो पर्यटनमन्त्रीको निधनमा राष्ट्रियक शोक तथा सार्वजनिक विदा परेकोले बैठकले शोक प्रस्ताव पारित गर्दै आजलाई सारेको थियो । सहकुलपति एवं स्वास्थ्य मन्त्री यादवको अध्यक्षतामा आज बसेको बैठकले उपकुलपतिलाई बर्खास्त गरेको हो ।