धरान(डेस्क): दुई दिनअघि हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ आज गृहनगर पोखरामा अन्त्येष्टी गरिएको छ ।

मन्त्री अधिकारीको गृहनगरस्थित रामघाटमा आज अन्त्येष्टी गरिएको हो । अधिकारीलाई जेठा छोरा विराजले दागबत्ति दिएका थिए भने नेपाली सेनाको टुकडीले सलाी दिएको थियो । दुर्घटनामा सँस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री अधिकारीको निधन भएपछि बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले राजकीय सम्मानको साथ अन्त्येष्टी गर्ने निर्णय गरेको थियो । साथै, सो बैठकको निर्णयअनुसार बिहिबार राष्ट्रिय शोक घोषणा गरिनुका साथै सार्वजनिक विदा पनि दिइएको थियो ।

मन्त्री अधिकारीलाई गृहनगरमा अन्त्येष्टी गरिनुअघि आजै बिहान श्रद्धाञ्जलीका लागि काठमाडौंको टुँडिखेलमा उनको शव राखिएको थियो । त्यसपछि, गृहनगर पोखरा लगिएको शवलाई पोखराको प्रदर्शनी केन्द्रमा पनि श्रद्धञ्जलीका लागि राखिएको थियो । मन्त्री अधिकारीलाई उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रीय झण्डा अढाएका थिए भने वामदेव गौतमले पार्टीको झण्डा ओढाएका थिए । अन्तिम सँस्कारको लागि रामघाट पुर्याउन प्रदर्शनी केन्द्रदेखि महेन्द्र पुल–रानीपौवा हुँदै क्षेत्रीय अस्पताल मार्गबाट शवयात्रा निकालिएको थियो ।