धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.राजकुमार रौनियार बर्खास्तमा परेपछि उपकुलपतिको कार्यकक्षमा ताला लगाइएको छ ।

आजको ४२ औं बिशेष सिनेट बैठकले उपकुलपति रौनियारलाई पदबाट हटाउने निर्णय गरेपछि प्रतिष्ठानकै कर्मचारीहरुले कार्यकक्षमा ताला लगाएका हुन् । उपकुलपति रौनियारले महत्वपुर्ण कागजपत्र गायब बनाउनसक्ने आशंकामा ताला लगाइएको बताइएको छ । उपकुलपतिको कार्यकक्षमा नियमितरुपमा लाग्ने तालामाथि अर्को ताला लगाइएको छ ।

स्रोतका अनुसार प्रतिष्ठानको कर्मचारी प्रशासनका कर्मचारीले आज दिउँसो ताला लगाएका हुन् । ‘महत्वपुर्ण कागजातहरु हराउला वा लैजाला भनेर ताला लगाइएको रहेछ,’एक कर्मचारीले भने,‘रजिष्ट्रारबाट निर्देशन आएको भन्ने बुझिायो ।’ विगतमा पनि पुर्वउपकुलपति डा.वीपी दासले आफ्नो कार्यकाल सकिएपछि थुप्रै विवादस्पद बिषयहरुको फाइल आफुसँगै लिएर गएको आरोप लाग्दै आएको छ । दोस्रो पटक उपकुलपति बन्ने प्रयास गरेका दास सफल भएनन् । दासको पालाको विभिन्न फाइल खोज्दा पनि नभेटिएको हाल वर्खास्तमा परेका उपकुलपति डा.रौनियारले सञ्चारकर्मीहरुलाई बताउने गरेका थिए । अहिले उनी पनि बर्खास्तमा परेपछि महत्वपुर्ण कागजात तथा फाइल हराउन सक्ने आशंकामा कर्मचारीहरुले आजकै दिन ताला लगाएको बताइएको छ ।

यसबिषयमा प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठसँग सम्पर्क गर्दा कागजात हराउला भन्ने चिन्ताले ताला लगाएको हुनसक्ने प्रतिक्रिया दिए । तर, आफुले ताला लगाउन निर्देशन भने नदिएको उनले बताए । ‘केही भयो भने मलाई नै दोष देखाउने चलन छ, मैले त्यसो भनेको छैन । कागजपत्र हराउला भनेर कसैले लगाएको होला,’रजिष्ट्रार श्रेष्ठले भने । प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङले पनि आधिकारिकरुपमा संगठनले ताला नलगाएको र जानकारीमा पनि नआएको बताए ।

यता, प्रतिष्ठानको सुरक्षाको जिम्मा लिएको केटिएम सेक्युरिटीका सुपरभाईजर खड्ग तामाङले भने ताला लगाएको पुष्टि गरेपनि कस्ले लगाएको भन्ने थाह नभएको बताए । ‘सधै लाग्ने तालामाथि अर्को ताला छ, कागजात हराउछ भनेर लगाएको रे,’उनले भने,‘अरु कुरा त थाह भएन ।’