धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति डा.राजकुमार रौनियारलाई बर्खास्त गर्ने निर्णय गरेको ४२ औं बिशेष सिनेट बैठकले अस्पताल निर्देशकको काम कारबाहीमाथि पनि प्रश्न उठाएको छ ।

अस्पताल निर्देशक डा.गौरीशंकर साहको केही बिषयमा छानबिन प्रतिवेदनमा गलत गरेको भन्ने उल्लेख गरेकोले बैठकले उनलाई पनि छानबिनको दायरामा ल्याउने निर्णय गरेको एक सिनेट सदस्यले बताए । तर, छानबिन समिति गठन गर्ने वा कार्यकारिणी समितिमार्फत छानबिन गर्ने भन्ने विधिको निर्णय भने भएन । ती सिनेट सदस्यका अनुसार अस्पताल निर्देशकमाथि पनि उपकुलपतिलाई झैं पदीय आचरण अनुसार कार्य नगरेको आरोप लगाइएको छ । ‘रेक्टर र रजिष्ट्रारको अधिकार खोसेर अस्पताल निर्देशकलाई जिम्मा दिइएको रहेछ, त्यही बिषयमा प्रतिवेदनमा उल्लेख छ, र उनको काम कार्यवाहीबारे पनि छानबिन गर्नुपर्छ भन्ने भयो,’ती सदस्यले भने ।

प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले भने अस्पताल निर्देशकको बिषयमा पनि केही ‘इस्यु’मा कुरा उठेको र निर्देशकले गरेको काम,कारवाही गलत भयो भन्ने निष्कर्ष भएको बताए । ती बिषयहरुमा छानबिन गर्ने भनिएपनि अलग्गै कमिटि बनाउने वा कार्यकारिणी समितिले हेर्ने भनेर बैठकको माइन्युटबाट मात्र थाह हुने रजिष्ट्रार श्रेष्ठले बताए । ‘अस्पताल निर्देशकले गरेको केही काम ठिक भएन, गलत हो भन्ने कुरा उठ्यो । छानबिन गर्ने भन्ने छ, तर बेग्लै कमिटि बनाउने कि का.स.बाट गर्ने भन्ने विधि टुंगिन बाँकी छ,’उनले भने,‘बैठकको निर्णयको माइन्युट कसरी लेखिन्छ, त्यसैमा भर पर्छ ।’

स्वास्थ्य राज्यमन्त्री डा.सरोजकुमार यादवले पनि अस्पताल निर्देशकको बिषयमा छानबिन हुने बताए । ‘अस्पताल निर्देशकको कामको पनि छानबिन गर्ने र दोषी देखिए कारबाही गर्ने निर्णय भएको छ,’राज्यमन्त्री यादवले भने । यो बिषयमा अस्पताल निर्देशक डा.साहलाई सम्पर्क गर्दा उनले मोवाइल फोन उठाएनन् ।